एनपिएल क्रिकेटको उद्घाटन खेलको टिकट तीन दिनअघि नै ‘सोल्ड आउट’

काठमाडौं := प्रतियोगिता सञ्चालन हुन दुई दिनमात्र बाँकी रहेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेटको सम्पूर्ण तयारी पूरा भएको छ । पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगिताले खेलप्रेमीबीचमा निकै उत्साह छ ।

यो प्रतियोगितामा कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीको सहभागिता रहेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलको टिकट तीन दिनअघि नै सोल्ट आउट भएको छ । विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच मंसिर १५ गते हुने उद्घाटन खेलको टिकट तीन दिनअघि सोल्ड आउट भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो ।

‘टियूको कुल क्षमता १२ हजार जति छ । त्यसमा भिआइपी टिकट १२०० रहेकोमा ८०० बिक्री गरिएको छ। नर्मलतर्फ लगभग सबै टिकट सोल्ड आउट नै भइसकेको छ,’ लामाले भन्नुभयो । टियू मैदानमा सिद्धार्थ बैंक जोन पनि छुट्याइएको छ । जुन मुख्य प्रायोजकका लागि हो ।

यसपटक क्यानले टियूमा दर्शकहरूको सुविधाका लागि फ्यान जोन छुट्याएर टिकट बिक्री गरेको थियो । मंसिर १० गते बेलुका ८ बजेबाट क्यानले टिकट बिक्री खुला गरेकोमा तीन दिनमै टिकट सोल्ड आउट भएको हो । मंसिर १५ गतेदेखि सुरु हुने एनपिएलमा आठ टिम सहभागी छन् ।

भित्रिए ६ विदेशी कमेन्टेटर

नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ देखि पुस ६ गतेसम्म हुने नेपाल प्रिमियर लिगका लागि ६ विदेशी कमेन्टेटर भित्र्याएकाको छ । क्यानले बुधबार नेपाल प्रिमियर लिगको अफिसियल पेजमार्फत् ६ विदेशी कमेन्टेटरको नाम सार्वजनिक गरेको छ ।

अमेरिकाका एन्ड्रयु लेनर्ड नेपाल क्रिकेटका चर्चित कमेन्टेटर हुनुहुन्छ । उहाँले नेपालका अधिकांश खेलहरूमा कमेन्ट्री गर्दै आउनुभएको छ । एन्ड्रयुसहित एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानीलाई क्यानले कमेन्ट्रीका लागि भिœयाएको हो ।

अकरम्यान दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुनुहुन्छ । उहाँले दक्षिण अफ्रिकाबाट सन् १९९८ मा टेस्ट क्रिकेट खेल्नुभएको थियो । अकरम्यानले क्रिकेट करियरपछि कमेन्टेटरका रूपमा काम गरिरहनुभएको छ ।

ड्यारेन इंग्ल्याण्डका पूर्वक्रिकेटर हुनुहुन्छ । उहाँले इंग्ल्याण्डबाट टेस्ट, ओडिआई र टी-२० आई खेल खेल्नुभएको छ । उहाँले १५९ ओडिआईमा २३५ विकेट लिनुभएको छ ।

भारतका श्रीधरणले पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको थियो । उहाँले सन् २००० देखि २००४ सम्म भारतबाट खेल्नुभएको थियो । मोनाली क्यानडाकी पूर्वक्रिकेटर हुनुहुन्छ । उहाँले सन् २०१९ मा क्यानडाबाट दुई टी-२० आई खेल खेल्नुभएको थियो । मिखाइल भारतका पत्रकार तथा कमेन्टेटर हुनुहुन्छ ।