करार सेवामा कार्यरत आठजना विमान चालक पाइलटले नेपाल एयरलाइन्सलाई समस्या।

काठमाडौं:= सेवासुविधा वृद्धिको माग राख्दै विमान चालकहरू आन्दोलित भएपछि नेपाल वायुसेवा निगमको नियमित उडानहरूमा अवरोध बन्न पुगेको छ । कात्तिक मसान्तभित्र सेवासुविधा बढाउने भनी गरिएको सहमति कार्यान्वयन नभएको भन्दै निगमका आठजना विमान चालकहरू सेवामा अनुपस्थित भएपछि निगमको सेवामा समस्या देखिएको हो ।

करार सेवामा कार्यरत आठजना विमान चालकको आन्दोलनले ४३ जना विमान चालक रहेको निगमका एकसाता यताका उडानहरू प्रभावित बनेका छन् । आइतबार दुबईका लागि निर्धारित निगमको फ्लाइट स्थगित हुन पुग्यो भने मुम्बई उड्नुपर्ने जहाज आठ घण्टा ढिलो भयो । निगमको आन्तरिक समस्याका कारण यात्रुहरूले अनाहकमा सास्ती व्यहोर्नुपर्‍यो ।

निगमको ‘क्याबिन क्रु’ का कर्मचारीहरूले यसअघि आन्दोलन गरेर आफ्नो माग पूरा गराएका थिए । उनीहरूले सेवाको उमेर हद ४५ वर्षबाट ५० वर्ष बनाउनुपर्ने माग राखेका थिए । निगमले सो माग पूरा गरे पनि करारमा कार्यरत आठजना विमान चालकहरूको माग भने पूरा गर्न नसक्दा नियमित उडानहरूमा समस्या देखिएको हो ।

सेवामा अनुपस्थित हुँदै आएका करारका विमान चालकहरूले स्वास्थ्य समस्या देखाएर बिदा माग गरेका छन् । कारण जे देखाए पनि उनीहरूले आफ्नो माग पूरा गराउन निगम प्रशासनलाई दबाब दिन खोजेको निगम स्रोतको भनाइ छ ।

निगमले यसअघि नै सेवा सुविधा बढाउन सहमति जनाए पनि कार्यान्वयन नभएपछि उनीहरू आन्दोलित भएको बताइन्छ । उनीहरूको सेवा सुविधा बढाउन निगम तयार भए पनि अर्थ मन्त्रालयबाट स्वीकृति नआएका कारण माग सम्बोधनमा ढिलाइ भएको निगमले जनाएको छ ।

हाल निगमसँग अन्तर्राष्ट्रिय उडानतर्फ दुई वाइडबडी र दुई न्यारोबडी विमान रहेका छन् । निगमका ४३ जना विमान चालकमध्ये ३५ जना स्थायी हुन् । करार सेवामा रहेका आठ जनाले स्थायी विमान चालक सरह तलब र सुविधाको माग गर्दै निगमको नियमित सेवामा असहयोग गरेका हुन्। करार सेवामा रहेका ती विमान चालकहरूको माग पूरा गर्न र सेवा सुचारु गराउन नेपाल वायु सेवा निगमलाई दबाब बढ्दो छ ।

गम्भीर रूपमा लिएका छौँ : निगम

नेपाल वायु सेवा निगमले करारमा कार्यरत विमान चालकहरूका कारण सिर्जित समस्यालाई गम्भीर रूपमा लिएको जनाएको छ । निगमको अपरेसन्स विभागका कामु निर्देशक दीपुराज ज्वारचनको हस्ताक्षरमा निगमभित्र जारी गरिएको आन्तरिक सूचनामा निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्रै नभई निगमको साख र इज्जतमा समेत नकरात्मक प्रभाव परेको उल्लेख छ । सो सूचनामा सम्पूर्ण विमान चालकहरूलाई आफ्नो रोस्टरअनुसार उडान सञ्चालन गर्न सूचित गर्दै अन्यथा भए नियमानुसार अगाडि बढ्ने उल्लेख छ ।

सुविधा बढाउने प्रस्ताव अर्थमा

आन्दोलनमा उत्रिएका करार विमान चालकहरूको सेवा सुविधा बढाउन पूर्ववत सहमति अनुसारको प्रस्ताव नागरिक उड्ययन मन्त्रालयले तयार पारिसकेको छ । सो मन्त्रालयले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको प्रस्तावमा अर्थले सहमति दिइसकेको छैन । पर्यटन मन्त्रालय स्रोतका अनुसार विमान चालकहरूको सेवा सुविधा थप गर्दा मासिक थप एक करोड रुपैयाँ निगमको व्ययभार बढ्न जान्छ ।  पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आन्दोलनरत पाइलटहरूलाई काममा फर्कन र वार्तामा बस्न आग्रह गरिसकेको छ । अर्थ मन्त्रालयले सहमति दिनासाथ माग सम्बोधन हुने नै भएकाले अहिले नै हड्तालमा उत्रन जरुरी नरहेको पर्यटन मन्त्रालयका एक अधिकारीको भनाइ छ ।