नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रसारण भारतीय स्टार स्पोर्ट्स च्यानलबाट हुने।

काठमाडौं := आगामी मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग (एनपिएल)को प्रत्यक्ष प्रसारण भारतीय स्टार स्पोर्ट्स च्यानलबाट हुनेभएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार यसबारे जानकारी गराउँदै स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने बताएको हो ।

यस्तै एनपिएलको प्रमुख प्रायोजकमा सिद्धार्थ बैंक भित्रिएको छ । सिद्धार्थ बैंक र एनपिएलबीच पाँच वर्षको सम्झौता भएको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो । सचिव खड्काले सिद्धार्थ बैंकसँग पाँच वर्षको लागि टाइटल स्पोन्सरको सम्झौता भएको बताउनुभयो ।

यद्यपि तिरेको रकमबारे भने उहाँले खुलाउन चाहनुभएन। ’टाइटल स्पोन्सरका लागि रेकर्ड ब्रेक लगानी भएको छ । पाँच वर्षको लगानी हुनुभनेकै हाम्रो लागि ठूलो हो,’ सचिव खड्काले भन्नुभयो । स्टार स्पोर्ट्समा प्रसारण नगरेसम्म विश्वका ठूल्ठूला क्रिकेटरलाई नेपालमा ल्याएर खेलाउन सम्भव नरहेको उहाँको भनाइ थियो ।

स्टार स्पोर्ट्स विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने खेल च्यानलमध्ये एक हो, जसले एनपिएललाई नेपाल भित्रमात्र सीमित नगरी दक्षिण एसियालगायत अन्तर्राष्ट्रिय दर्शकहरूसम्म पुर्‍याउनेछ । क्यानले आफैं आयोजना गर्न लागेको यस फ्रेन्चाइज प्रतियोगितामा आठवटा टोली सहभागी हुनेछन् ।

नेपाल प्रिमियर लिगमा वाग्मती प्रदेशबाट दुई र अन्य प्रदेशबाट एक÷एक टिम बनेका छन् । पहिलो संस्करण खेल्ने टोलीहरूमा काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । यी टोलीमा शिखर धवन, रोहन मुस्तफा, बेन कटिङ, माइकल लेभिट, सैफ जाइब, ब्रान्डन म्याकमुलेन, उन्मुक्त चन्दलगायत चर्चित विदेशी खेलाडीसमेत हुनुहुन्छ ।