काठमाडौं := काठमाडौंको हृयात होटलमा ‘के पप टूर इन नेपाल’ शीर्षकको सांगीतिक कार्यक्रम आयोजना हुनेभएको छ । आगामी पुस ५ र ६ गते (डिसेम्बर २० तथा २१) दिउँसो १ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् ।
यो कार्यक्रममा के पप, जे पप र ने–पपका कलाकारले आफ्नो प्रस्तुति दिनेछन् । नेपालसँग दक्षिण कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको उपलक्ष्यमा यो कार्यक्रमको आयोजना हुनलागेको हो । यो अवसरमा अन्य केही कार्यक्रम पनि नेपालमा आयोजना भइरहेका छन् ।
नेपालका कलाकारहरूसँग जापान र दक्षिण कोरियाका कलाकारले एकअर्काको देशको संस्कृति झल्कने प्रस्तुति कार्यक्रममा दिनेछन् । यसका लागि नेपाली, जापानिज र दक्षिण कोरियाका कलाकारहरू उत्साहित देखिएका छन्।
कार्यक्रममा नेपालको सांगीतिक ब्याण्ड कुटुम्ब, गायक दीपक बज्राचार्य तथा करण परियारले आफ्नो प्रस्तुति दिने बताइएको छ । कार्यक्रममा केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराईलगायत व्याण्डका कलाकारले आफ्नो प्रस्तुति दिनेछन् । यस्तै, एओनियो मामी, हान सेहृयुनले पनि यो कार्यक्रममा प्रस्तुति दिनेछन् ।