महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने।

काठमाडौं := मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’को वर्ल्ड प्रिमियर मंसिर २३ गते (डिसेम्बर ८) हङ्कङमा गरिने भएको छ । चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले उक्त जानकारी गराएको हो ।

महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यो चलचित्रको प्रिमियर शोमा एञ्जिला र निर्देशक चाम्स सहभागी हुनुहुनेछ । हङ्कङ प्रिमियरपछि नेपाल रिलिजअघि नै यो चलचित्रको प्रदर्शनी युके, अमेरिका, अष्ट्रेलिया र जापानमा हुने निर्माता प्रेमकुमार श्रेष्ठले जानकारी गराउनुभयो ।

नेपालमा भने यो चलचित्रको रिलिज मिति फागुन २९ गते तोकिएको छ । यस चलचित्रमा एञ्जिला आफैं मुख्य भूमिकामा देखिनुभएको छ भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगातका कलाकारको अभिनय छ । निर्माता प्रेमकुमारले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गर्नुभएको छ ।

चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौंमा गरिएको छ । निर्देशक चाम्सले यो चलचित्रले फरक प्रकारको प्रभाव छोड्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँका अनुसार चलचित्रले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको छ ।

चलचित्रको छायांकन सुदीप बरालले गर्नुभएको हो भने सम्पादन मिलन श्रेष्ठले गर्नुभएको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सहनिर्माता हुनुहुन्छ भने विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गर्नुभएको छ ।