काठमाडौं := काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमका खेलाडी र अफिसियल सबैलाई गरेर कूल २७ लाख ५० हजारबाट सम्मान गरेको जनाएको छ। तर सम्मान कार्यक्रममा भने २५ लाखको डेमो चेक प्रदान गरिएको थियो।
महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतले खेलाडी र अफिसियललाई सम्मान गरे। सम्मान कार्यक्रममा एन्फा अध्यक्ष पंकज विकम नेम्वाङ लगायत एन्फा पदाधिकारी पनि उपस्थित थिए।

महानगरले २३ खेलाडी र टिम लिडर सरिला श्रेष्ठ मलेकु, टिम म्यानेजर बिन्द्रा देवान, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक विनोद महर्जन, टिम डक्टर ज्योती राई, फिजियो नविना श्रेष्ठ, पंकज बहादुर शाही, किट म्यानेजर विकास गुरुङलाई सम्मान गरेको हो।
मेयर बालेनले नेपाली टिमलाई उपविजेता भएकोमा बधाई दिँदै सारा नेपाललाई जोड्ने काम गरेको भन्दै धन्यवाद दिए। उनले हारले दुस्खी हुनु भन्दा अब आउने दिन राम्रो खेल्नुपर्ने बताए।




















