चर्चित नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ अब ओटीटी प्लेटफर्ममा हेर्न मिल्ने।

काठमाडौं := चर्चित नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ को ओटीटीमा आउने भएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्काको यो चलचित्र यही शुक्रबारदेखि एमएसएम भिडियोेमा स्ट्रिमिङ हुनेभएको हो । एमएसएम भिडियोे गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ । दर्शकहरूले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन् ।

यद्यपि, यो चलचित्र अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुने छैन । यी देशहरूमा हलमै रिलिज भइराखेकाले तत्काल ओटीटीमा नआउने निश्चले जानकारी गराउनुभयो ।

घटस्थापनाको अवसरमा असोज १७ गतेदेखि सिनेमाघरमा यो चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो । पहिलो साताभर साढे तीन करोड कमाएको थियो । तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी चलचित्र हुँदा प्रयाप्त शो पाउन सकेन ।

कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोख्नुभएको थियो । निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको यो चलचित्रको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुनहुुन्छ ।