काठमाडौं := तिहारको छेको पारेर यही कात्तिक १५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’को केही समयअघि सार्वजनिक ट्रेलरलाई दर्शकले मन पराइरहेका छन् ।
गन्दर्व समुदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका हुन् । चलचित्रकर्मी र आमदशर्कले ट्रेलरको तारिफ गर्दै चलचित्रबाट पनि अपेक्षा रहेको बताएका छन् । चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङमा छ। यो ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ साथै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।
दर्शकको ध्यान यसका कन्टेन टिजर, ट्रेलर, गीत र त्यसअघि यसको मोसन पोस्टरले पनि खिचिन सफल भएको थियो । यसका गीत र ट्रेलरमा आएको दर्शकको प्रतिक्रिया युट्युबमा हेर्दा यो चलचित्रले दर्शकको साथ पाउने अनुमान गर्न सकिन्छ ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायं केसी, जान्वी पौडेललगायतको अभिनय छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।
सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ । चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेख्नुभएको छ । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हनुहुन्छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर छ । यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ ।




















