निर्वाचन आयोगले एनआरएनएहरुले नेपाली नागरिकता त्यागेको विवरण माग्यो।

काठमाडौं := निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिहरुले उक्त नागरिकता पाउनुअघि नेपाली नागरिकता त्यागेको विवरण गृह मन्त्रालयसँग मागेको छ।

आयोगको आजको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्न गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साविकको नागरिकता त्यागेको विवरण मागेको हो।

ऐनबमोजिम नागरिकता त्यागेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए।गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ।

आयोगले उक्त व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिले नेपाली नागरिकता त्यागेको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग्नेको नाम मतदाता नामावलीबाट हटाई नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ।