एजेन्सी := भारतीय संगीतकार एआर रहमानले कमला ह्यारिसको समर्थनमा ३० मिनेटको भिडियो रेकर्ड गरेका छन् । यो भिडियो एसियन अमेरिकन एन्ड प्यासिफिक आइल्याण्डर्स (एएपीआई) विजय कोष संगठनले रेकर्ड गरेको हो ।
यो भिडियो एएपीआईको युट्युब च्यानलमा अक्टोबर १३ मा लाईभ गरिने बताइएको छ । एआर रहमान ह्यारिसलाई समर्थन गर्ने दक्षिण एशियाका पहिलो अन्तर्राष्ट्रिय कलाकार हुन् । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
भारतीय मूलकी कमला यस निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार हुन् । उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने दावेदार हुन् । यसअघि एआर रहमान र इन्डियास्पोराका अध्यक्ष एमआर रंगास्वामीको भिडियो टिजर पनि रिलिज भएको थियो ।
रिपोर्टका अनुसार रहमानका केही चर्चित गीतहरू यस शोमा बजाइने छ । यससँगै ह्यारिसलाई भोट गर्न अपिल पनि गरिनेछ । यस अघि पप स्टार टेलर स्विफ्टले पनि आफ्नो इन्स्टाग्राममा कमला ह्यारिसलाई सहयोगको अपिल गरेकी छिन् ।
कमला ह्यारिसका लागि अमेरिकामा रहेका भारतीय समुदायले चुनावी अभियान सुरु गरेका छन् । सेप्टेम्बर ३ मा, मानिसहरूले उत्तरी क्यारोलिना, मिशिगन, जर्जिया, पेन्सिलभेनिया लगायत धेरै राज्यहरूमा ह्यारिसको समर्थनमा र्यालीहरू निकालेका थिए ।
अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको रिपोर्ट अनुसार अमेरिकामा २१ लाखभन्दा बढी भारतीय-अमेरिकी मतदाता छन् । कमला ह्यारिसले ट्रम्पलाई भन्दा अश्वेत व्यक्तिबाट बढी समर्थन पाइरहेकी छन् । प्यू रिसर्च सेन्टरको सर्वेक्षण प्रतिवेदनअनुसार ७७ प्रतिशत अश्वेत मतदाताले राष्ट्रपतिका लागि कमलालाई रुचाएका छन् ।
जबकि १३ प्रतिशत अश्वेत मतदाताले मात्र ट्रम्पलाई समर्थन गरेका छन् । यसैबीच, पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित चुनावी र्यालीमा ओबामाले अश्वेत पुरुष मतदातालाई कमलालाई भोट गर्न अपील गरेका थिए ।




















