चलचित्र ‘एक्टरः टेक वन’ र ‘कमेडी दरबार’ले उपत्यका बाहिरका शहरमा टुर गर्दै।

काठमाडौं := तिहारको छेको पारेर कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘एक्टरः टेक वन’ले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रियस्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ । यो टुर काठमाडौं उपत्यका बाहिरका ६ मुख्य शहरहरू इटहरी, नारायणगढ, बुटवल, नेपालगञ्ज, दाङ र पोखरामा गर्न लागिएको बताइएको छ ।

यो प्रचारात्मक टुर कात्तिक १ देखि ७ गतेसम्म आयोजना हुनेछ । कात्तिक १ गते सुनसरीको इटहरीबाट सुरु भई, २ गते चितवनको नारायणगढ, ३ गते रूपन्देहीको बुटवल, ४ गते बाँकेको नेपालगञ्ज, ५ गते दाङको तुलसीपुर, र अन्तिम कार्यक्रम ७ गते कास्कीको पोखरामा सम्पन्न हुनेछ । चलचित्रका निर्माता थमनकुमार भण्डारीले कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई पनि स्थान दिने जानकारी दिनुभयो । लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुनेछ ।

प्रत्येक कार्यक्रमहरूमा चलचित्र ‘एक्टरः टेक वन’का कलाकारहरू प्रदीप खड्का, अन्ना शर्मा, दिव्या रायमाझीलगायत प्रस्तुति हुनेछ भने ‘कमेडी दरबार’का चर्चित कमेडियनहरू सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्र शाकी (मिस पबी), सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवाललगायतको सहभागिता रहने जनाइएको छ ।
चलचित्रमा प्रदीप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायत कलाकारको अभिनय छ । चलचित्रको निर्देशन राजन भुसालले गर्नुभएको छ भने कथा आकाश बराल र राजन भुसालले लेख्नुभएको हो ।

‘अदृत फिल्मस्’ र ‘मोती फिल्मस्’को संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता थमनकुमार भण्डारी र सहनिर्माता अनिश भुसाल रहनुभएको छ । नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत, शिशिर खाती र किरण थापाको कोरियोग्राफी रहेको चलचित्रमा, अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । पोष्ट–प्रोडक्सन सुपरभाइजर साहिल खान, रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले पोष्टर तथा पब्लिसिटी डिजाइन गर्नुभउको हो भने भने मिडिया प्लानिङ एक्जुकेटिभ जीवन पराजुली हुनुहुन्छ ।