क्षयरोग बिरामीलाई नेपाली राजदूतावासद्वारा उद्धार गरि स्वदेश फिर्ता।

क्वालालम्पुर (मलेसिया):= रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहदा क्षयरोग लागेर बिरामी परेका पिडित श्रमिक शंकर थापा नेपाली राजदूतवास मलेसियाको सहयोगमा स्वदेश फर्किएका छन ।

उनी बातिक एयर ( Batik Air ) को उडान मार्फत यहीँ अक्टोबर १ तारिखका दिन नेपाल फर्किएका हुन ।
शंकरले पछिल्लो केहि बर्षदेखि नेपालबाट आएको कम्पनी छाडेर अबैधानिक रुपमा बसोबास गरि काम गरिरहेका थिए । यसैक्रममा केही समय देखि उनी बिरामी परे ।

प्राथमिक उपचार गराउदा पनि रोग ठिक नभएपछि स्पेशल चेकजाँच गराउदा उनमा क्षयरोगको लक्षण देखापरेकाे थियो । रोग पहिचान गर्ने क्रममै आफूसंग भएको खर्च सकिए पछि उनी बेखर्ची भई पिडित भएका थिए । रोग र आर्थिक अभावले पिडित शंकर सम्पर्कमा आएपछि पिएनसिसिले नेपाली राजदूतवाससंग सहयोगका लागि समन्वय गरेको थियो ।

सोहिअनुरुप अबैधानिक भए बापत अध्यागमनमा बुझाउनु पर्ने शुल्क आरएम ५००, नेपाल फर्किने हवाई टिकट लगायतका खर्च साथै कागजी प्रकृयाका लागि गर्नु पर्ने सबै किसिमको सहयोग समन्वय दूतावासका प्रथम सचिव एवं सूचना प्रमुख बलिराम धामीको पहलमा दूतवासले उपलब्ध गराएको हो ।

नेपाली राजदूतवास द्वारा उद्धार गरिएका शंकरलाई मलेसियाको एयरपोर्ट पुर्याउने देखि नेपालको एयरपोर्टमा रिसिभगरि परिवारको जिम्मा लगाउने काम पिएनसिसिले गरेको थियो ।