बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई एनआरएनएले रु.१ करोड रुपैयाँ सहयोग गर्ने।

काठमाडौं := अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावित नेपालीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थाले रु.१ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

नेपाली समयअनुसार आइतबार राती बसेको संघको बैठकले बाढी प्रभावितका लागि १ करोड रुपैँया सहयोग गर्ने निर्णय गरेको हो । बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण  विभागका प्रमुख डा. हेम राज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ ।

समितिमा संघका विभिन्न पदाधिकारीहरु, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु समेतलाई संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा. केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा  आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गरे ।

बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्नेछ । पदाधिकारी बैठकको निर्णय कार्यान्वयन तथा आर्थिक सहयोग संकलनका लागि आजै बस्ने गरि आपतकालिन बैठक आव्हान गरिएको छ।