काठमाडौं:= नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्तिमार्फत् दर्ता खुला गरेको हो । अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइनमार्फत् नाम दर्ता गर्न सक्नेछन् ।
अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा दर्ता गर्न सकिनेछ । ‘ए’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ । उक्त मूल्य बढीमा १५ लाखसम्म जानेछ । एउटा ‘ए’ ग्रेडको खेलाडीलाई १५ लाखसम्म एकभन्दा बढी टोलीको बोली लागेको खण्डमा चिठ्ठा थुतिने क्यानका प्रवक्ता छुम्बी लामा बताउनुहुन्छ ।
‘बी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य पाँच लाख राखिएको छ । ‘बी’ ग्रेडका खेलाडीले उच्चतम मूल्य १० लाखसम्म पाउनेछन् । १० लाखभन्दा बढी भएमा चिठ्ठा थुतिनेछ । त्यस्तै ‘सी’ ग्रेडका खेलाडीको न्यूनतम मूल्य दुई लाख राखिएको छ । बढीमा पाँच लाखसम्म जानेछ । त्यसपछि चिठ्ठा थुतिनेछ ।
खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्नेछ । दर्ताको अन्तिम समय असोज १२ सम्म राखिएको छ । एनपिएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । एनपिएलमा काठमाडौं, पोखरा, चितवन, विराटनगर, जनकपुर, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली गरी आठ टोली छन् ।