काठमाडौं := फोनिक्स फिट्शालाका प्रकाश राईले पाँचौँ मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्नुभएको छ । विभिन्न पाँच तौल समूहका विजेतालाई पछि पार्दै प्रकाश ओभरअल च्याम्पियन बन्नुभएको हो । प्रकाश पुरुष ७५ केजीमाथि तौल समूहमा पहिलो हुँदै मिस्टर काठमाडौं उपाधि होडमा प्रवेश गर्नुभएको थियो । प्रकाशले मिस्टर काठमाडौंका लागि एक लाख ५० हजार र आफ्नो स्पर्धामा पहिलो भएबापत छुट्टै १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभयोे ।
अन्य पाँच स्पर्धामा पहिलो हुँदै मिस्टर काठमाडौंका लागि प्रतिस्पर्धा गर्ने खेलाडीमा पुरुष ५५ केजीमा डिभाइन फिजिकल फिट्नेसका राजकुमार मानन्धर, ६० केजीमा एक्सट्रिम फिट्नेसका चुनबहादुर थापा, ६५ केजीमा ग्यालेक्सी फिट्नेसका हर्कबहादुर राई, ७० केजीमा कालीमाटी फ्रेण्डसिप जिमका देवेन्द्र बज्राचार्य र ७५ केजीमुनि फिट्नेस टाइमका कृष्णप्रसाद श्रेष्ठ रहनुभएको छ । ६ स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।
काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको जुनियर पुरुष शारीरिक सुगठनमा डाइन्यास्टी फिट्नेस क्लबका आदित्य श्रेष्ठ पहिलो, दि जिम एक्सका रिसभ श्रेष्ठ दोस्रो र अल्टिमेट लिफ्टिङ क्लबका असीमसिंह थापा तेस्रो हुनुभयो । पुरुष मास्टर्स शारीरिक सुगठनमा डिभाइनका रमेश अधिकारीले स्वर्ण, माई फिट्नेस जिमका सलिम कुराइसी दोस्रो र भुमही जिम एण्ड फिट्नेसका नवराज डुम्रे तेस्रो बन्नुभयो ।
पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमाथि नेपाली युथ फिट एण्ड क्यालिस्थेनिकका निरल थापा पहिलो, आइरन प्याराडाइस फिट्नेस एण्ड स्पाका ज्ञानेश्वर चौधरी र फिट्नेस गराजका आकाश श्रेष्ठ शीर्ष तीन स्थानमा रहनुभयो । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टिमिटरमुनि अल्टिमेट लिफ्टिङ क्लबका जमेश मगर पहिलो, एक्सपोज जिमका पुकार शाक्य दोस्रो तथा न्यु गोल्ड्स फिजिकल सेन्टरका सुरज डंगोल तेस्रो हुनुभयो । यी चार विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले पाँच हजार नगद पुरस्कार हात पारे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला एथलेटिक फिजिकमा जिम एक्सकी सानु श्रेष्ठ पहिलो, एक्सपोज जिमकी कमला श्रेष्ठ दोस्रो र गोल्ड्स जिमकी उर्मिला श्रेष्ठ तेस्रो स्थानमा रहनुभयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई गृहमन्त्री रमेश लेखक, संघीय सांसद ठाकुर गैरे, पूर्व प्रदेशमन्त्री केशव स्थापित, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, आयोजक काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २०८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।