काठमाडौं := चलचित्र ‘होस्टेल ३’को मुहूर्तसँगै छायांकन आरम्भ गरिएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘होस्टेल ३’को छायांकन सुरु गरिएको हो । मुहूर्त शटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गर्नुभएको छ ।
चलचित्रको छायांकन काठमाडौंको बोडेमा सुरु भएको छ। यहाँ पहिलो चरणको छायांकन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायांकन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले जानकारी गराउनुभयो ।
‘होस्टेल’ शृंखलाको महत्वपूर्ण तेस्रो कडीका रूपमा हेरिएको ‘होस्टेल ३’ मा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय रहने छ ।
अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनुहुनेछ भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनुहुनेछ । यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ । चलचित्रको जापान, मध्यपूर्व र मलेसियाका लागि वितरण अधिकार पहिले नै बिक्री भइसकेको छ ।
चलचित्रको स्क्रिप्ट माधव शर्माले लेख्नुभएको हो भने कथा निर्देशक सशान कँडेलकै हो । चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गर्दैछ । चलचित्रका डिओपी अर्जुन तिवारी हुनहुनुहुन्छ भने सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री रहनुभएको छ ।
मुख्य सहायक निर्देशक सुदिप कुँवर रहेको चलचित्रको प्रोडक्सन डिजाइन यमप्रसाद ओलीले गर्नुभएको छ । कार्यकारी निर्माता शंकर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी रहेको यो चलचित्रको सह-निर्माताहरूमा सुधा मरहठ्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहनुभएको छ भने लाइन प्रोड्युसर भेषराज गौतम हुनुहुन्छ ।