नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने आठ मार्की खेलाडीको नाम सार्वजनिक।

काठमाडौं := नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आठ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ । क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनपिएलका लागि राष्ट्रिय टोलीमा रहेका आठ खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानले सार्वजनिक गरेको आठ मार्की खेलाडीमा कप्तान रोहितकुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल रहनुभएको छ ।

यद्यपि कुन खेलाडी कुन टोलीको मार्की खेलाडीका रूपमा रहन्छन् भन्नेबारेमा भने क्यानले केही खुलाएको छैन । पछिल्लो तीन वर्षको प्रदर्शनलाई ध्यानमा राख्दै आठ खेलाडीको नाम सार्वजनिक गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी गराउनुभयो । उनीहरू एनपिएलमा कुन टोलीमा रहन्छन् भन्नेबारेमा भने शनिबारमात्रै टुंगो लाग्नेछ । क्यानले शनिबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज टोलीलाई आफ्नो मार्की खेलाडी रोज्न लगाउनेछ ।

एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ । प्रतियोगितामा काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, जनकपुर र विराटनगर छन् । हरेक टोलीले एक-एक मार्की खेलाडी टोलीमा समावेश गर्नेछन् । क्यानले एनपिएलको अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने गरी तयारी गरेको छ । जसमा एक टोलीमा १६ खेलाडी हुनेछन् ।

तस्बिर स्रोत : नेपाल प्रिमियर लिग ।