काठमाडौं := फिल्म ‘सानो संसार’को अफिसियल ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा मध्यम वर्गीय परिवारको कथामा आउने उतार चढावसंगै मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा देखाईएको छ।
चलचित्रको करिब तीन मिनेट लामो ट्रेलरमा विसं २०६८ सालको परिवेशबाट प्रारम्भ भएको देखाइएको छ, जहाँ एउटा परिवारले आफ्नी छोरीलाई अध्ययनका लागि अमेरिका जानका लागि बिदा गरिरहेको देखाइएको छ । त्यसपछि दृश्यमा भने उक्त परिवारमा आउने विभिन्न समस्याहरूलाई चित्रण गरिएको छ ।
चलचित्रको ट्रेलरअनुसार एउटा मध्यम तथा निम्नवर्गीय नेपाली परिवारको दुःख र पीडालाई चित्रण गरेको अनुभव गर्न सकिन्छ । सिद्धार्थ पुडासैनीको निर्देशन रहेको चलचित्रमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा उहाँसहित राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल शिशिर शिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ । यी सबै कलाकारले यही चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्दै छन् । राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मुभिजको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।अर्जुनकुमार निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता माधव वाग्ले हुनुहुन्छ ।
राजधानी मिडिया र प्रिन्सेस मुभिजले चलचित्रलाई संयुक्त रूपमा प्रदर्शन गर्नेछन् । पुडासैनीले यही चलचित्रबाट लेखन तथा निर्देशनमा डेब्यु गर्दै छन् । उहाँलाई चलचित्रको कथा लेखनमा सरिष्मा खत्रीले सघाउनुभएको छ । प्रवीन खड्काको छायांकन र रोमी तण्डुकारको सम्पादन रहेको चलचित्रको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेको छ ।




















