इंग्ल्याण्ड क्रिकेट टोलीका अलराउण्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास।

लण्डन:= इंग्ल्याण्ड क्रिकेट टोलीका अलराउण्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटलाई अलबिदा गर्नुभएको छ । अब अर्को पुस्ताको समय आएको भन्दै इंग्ल्याण्डका ओडीआई तथा टी-२० विश्वकप विजेता अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभएको हो। इंग्ल्याण्डले सन् २०१९ मा एकदिवसीय तथा २०२२ मा टी-२० विश्वकप उपाधि जित्दा उहाँ टोलीका सदस्य हुनुहुन्थ्यो ।

सन्यासको घोषणा गर्दै मोइनले भन्नुभयो, ‘म ३७ वर्षको भएँ र अर्को महिना अष्ट्रेलियाविरुद्ध हुने सिरिजका लागि पनि छनोट भएको छैन । मैले इंग्ल्याण्डका लागि धेरै क्रिकेट खेलेको छु । अब अर्को पुस्ताका लागि समय आएको छ । यो बिदाइ गर्ने समय हो ।’ आफ्नो अन्तर्राष्ट्रिय करियरमा मोइनले इंग्ल्याण्डका लागि ६८ टेस्ट खेल खेल्नुभएको थियो । जसमा उहाँले ३०४९ रन बनाउनुका साथै २०४ विकेटसमेत लिनुभएको छ ।

१३८ एकदिवसीय खेलमा मोइनले २३५५ रन बनाउनुका साथै १११ विकेट लिनुभएको छ । टी-२० मा मोइनले ९२ खेलमा १२२९ रनसहित ५१ विकेट लिनुभएको छ । मोइन अली सन् २०२४ मा खेलिएको टी-२० विश्वकपमा इंग्ल्याण्ड क्रिकेट टोलीका सदस्य बन्नुभएको थियो । गत जुन २७ मा टी-२० विश्वकप सेमिफाइनलमा भारतविरुद्ध उहाँको करिअरको अन्तिम खेल रहृयो ।

सन् २०२२ को टी-२० खेलमा उहाँले दक्षिण अफ्रिकाविरुद्ध १६ बलमा अर्धशतक प्रहार गर्नुभएको थियो । जुन टी-२० आईमा इंग्ल्याण्डबाट सर्वाधिक छिटो अर्धशतक हो । अर्को हप्तादेखि इंग्ल्याण्डले घरेलु मैदानमा अष्ट्रेलियासँग तीन टी२० आई र पाँच ओडीआई सिरिज खेल्दैछ । इंग्ल्याण्डले अष्ट्रेलिया सिरिजलाई २३ वर्षीय स्पिन अलराउण्डर ड्यान मोस्लीलाई मौका दिएको छ । एजेन्सी