क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) एनसिसि मलेसियाको अध्यक्ष पदमा राकेश महतो “आरके” चयन भएका छ्न ।
यहीँ सेप्टेम्बर ७ तारिख शनिबार सम्पन्न एनआरएनए मलेसिया कार्यसमितिको बैठकले अध्यक्ष पदमा नियुक्ति पाएसंगै नव अध्यक्ष राकेश प्रसाद महतोले पदबहाली गर्नुभएको हो ।

गत वर्ष जुलाई २०२३ मा सम्पन्न संघको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा सन् २०२३-२५ कार्यकालका लागि अघिल्लो १ वर्ष बिनोद थापा र पछिल्लो १ वर्ष राकेश महतो अध्यक्ष भएर संघलाई चलाउने आन्तरिक सहमति भएको थियो ।

तत्कालीन प्रमुख निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले सहमतिपत्र हस्तान्तरण गरेपछि कार्यसमितिको बहुमतले निर्णय गरेर महतोलाई अध्यक्ष बनाएको हो ।

सोही सहमतिअनुसार कार्यसमितिले बाँकी एकबर्षको कार्यकालसम्म लाई महतोलाई अध्यक्षमा चयन गरेको हो। बैठकमा सहभागी एनआरनए एसिया प्यासिफिक संयोजक (आरसी) हरि भट्टराईको प्रमुख आतिथ्यतामा महतोलाई अध्यक्षमा चयन गरेको हो ।
महतोलाई अध्यक्ष पदको लागि भट्टराईले शपथ ग्रहण गराएका छन् । नवनियुक्त अध्यक्ष महतोले गैरआवासीय नेपाली अभियानलाई अझ सशक्त बनाउनुका साथै मलेसियामा रहेका नेपाली श्रमिकमहरुको हकहित तथा सुरक्षाका लागि काम गर्ने बताएका छन् ।
साथै बैठकले २०२३-२०२५ कार्यकालको पहिलो वर्षको अध्यक्ष चलाएका विनोद थापलाई स-सम्मान विदाई गर्ने निर्णय गरेको निर्णय पुस्तिकामा उल्लेख छ ।




















