आइसिसी महिला टी-२० विश्वकप २०२४ को पहिलो खेल स्कटल्याण्ड र बंगलादेशबीच हुने।

युएई:= आइसिसी महिला टी-२० विश्वकप २०२४ को पहिलो खेल स्कटल्याण्ड र बंगलादेशबीच हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)ले सोमबार जारी गरेको खेल तालिकाअनुसार ३ अक्टोबरबाट युएईमा नवौँ संस्करणको महिला टी ट्वान्टी विश्वकप सुरुवात हुनेछ ।

बंगलादेशमा सुरक्षाको कारण देखाउँदै प्रतियोगिता युएई सारिएको थियो । प्रतियोगिता युएईमा आयोजना हुने भएसँगै नयाँ खेलतालिका सार्वजनिक गरिएको हो ।जसमा समूह चरणका लागि दुबई र शारजाहका खेलहरू समान रूपमा विभाजित भएका थिए । अस्ट्रेलियाले समूह चरणका चारमध्ये तीन खेल शारजाहमा खेल्नेछ भने भारतले तीन खेल दुबईमा खेल्नेछ ।

साबिक विजेता अस्ट्रेलियाले अक्टोबर ५ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भारतले आफ्नो पहिलो खेल दुबईमा न्युजिल्याण्डविरुद्ध खेल्नेछ । भारतले ६ अक्टोबरमा दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा पाकिस्तानको सामना गर्नेछ ।

पहिलो सेमिफाइनल १७ अक्टोबरमा दुबईमा आयोजना हुनेछ । १८ अक्टोबरमा शारजाहमा दोस्रो सेमिफाइनल आयोजना हुनेछ । प्रतियोगिताको फाइनल २० अक्टोबर दुबईमा हुनेछ । सेमिफाइनल र फाइनल दुवैलाई रिजर्भ डे रहेको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, इंग्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश र स्कटल्याण्ड छन् । एजेन्सी ।