काठमाडौं := नेपाल तेक्वान्दो संघको आयोजनामा बिहीबार (आज) देखि चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुँदैछ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा आयोजना हुने उक्त प्रतियोगिता शनिबारसम्म चल्नेछ ।
प्रतियोगितामा तीनवटै विभागीय टिमलगायत सातवटा प्रदेशका महिला तेक्वान्दो खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा ग्यरोगी (फाइट) र पुम्से (फर्म) विधा समावेश गरिएको छ । जसमा ४४५ जना खेलाडीहरूले सहभागिताका लागि नाम दर्ता गरेको संघले जनाएको छ । खेलाडीहरूले ५२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता सञ्चालन गर्न संघद्वारा ४० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला निर्णायक र प्राविधिक परिचालन गरेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई राष्ट्रिय टिममा समावेश गरिने संघले जनाएको छ ।
शीर्ष तीन स्थानमा रहने टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि जनही १० हजार नगदबाट पुरस्कृत हुने आयोजक संघले जनाएको छ।




















