बंगलादेशमा संसद विघटन, मोहम्मद युनुसको नेतृत्वमा सरकार गठन गरिनुपर्ने विद्यार्थीको माग।

एजेन्सी := बंगलादेशमा विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिनाले देश छाडेको २४ घण्टापछि देशको संसद् भंग भएको छ । आन्दोलनरत विद्यार्थी नेताहरूले मंगलबार दिउँसोसम्म संसद् भंग गर्न अल्टिमेटम दिएका थिए । उनीहरूले संसद् भंग नगरे आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने चेतावनी पनि दिएका थिए ।

सोहीअनुसार राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलबार देशको संसद् भंग गर्नुभएको हो । राष्ट्रपति कार्यालयको प्रेस विभागले एक सूचना जारी गर्दै संसद् भंग भएको जानकारी दिएको छ । सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ ।

विज्ञप्तिमा बिएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि उल्लेख छ । विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरूलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गर्ने पनि जनाइएको छ । उता, बंगलादेश सेना प्रमुख वाकेर उज जमनले नयाँ सरकार बनाउने तयारी थालिसक्नु भएको छ । सरकार बनाउन उहाँले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहनु भएको छ । विद्यार्थी नेताहरूले भने सेना समर्थित वा सेना नेतृत्वको सरकार स्वीकार्य नहुने बताउँदै आएका छन् ।

बंगलादेशका विद्यार्थी नेताले अन्तरिम सरकार नोबेल विजेता मोहम्मद युनुसको नेतृत्वमा गठन गरिनुपर्ने बताएका छन् । ‘विभेदविरोधी विद्यार्थी आन्दोलन’ का संयोजक नाहिद इस्लाम, असिम महमद र अबु बाकर मजुम्दारका तर्फबाट मंगलबार सबेरै सार्वजनिक गरिएको भिडियोमा युनुसलाई अन्तरिम सरकारको जिम्मेवारी दिइनुपर्ने बताइएको हो । युनुस सन् २००६ मा नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री हुनुहुन्छ । उहाँ बंगलादेशको ग्रामीण बैंकका संस्थापकसमेत हुनुहुन्छ ।

युनुस बंगलादेशमा बनाउने भनिएको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बन्न सहमत हुनुभएको छ। द डेली स्टारले विश्वसनीय स्रोतको हवाला दिँदै प्राध्यापक युनुस अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएको जनाएको हो । युनुसको भनाइ उद्धृत गर्दै डेली स्टारले लेखेको छ, ‘सुरुमा छात्रहरूले मलाई सम्पर्क गर्दा त म सहमत थिइनँ । मैले उनीहरूलाई मेरा धेरै कामहरू बाँकी रहेको बताएको थिएँ ।

तर, विद्यार्थीहरूले बारम्बार आग्रह गरिरहे ।’ युनुस यतिबेला विदेशमा हुनुहुन्छ । उहाँ पेरिस ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन जानुभएको थियो । त्यसपछि उपचारका लागि भन्दै उहाँको विदेश भ्रमण लम्बिएको छ । छिट्टै नै उहाँ स्वदेश फर्कने बताइएको छ । यसअघि युनुसले शेख हसिनाको राजीनामापछि बंगलादेश ‘स्वतन्त्र’ भएको टिप्पणी गर्नुभएको थियो ।

शैक्षिक संस्थाहरू खोल्न निर्देशन

बंगलादेशमा सेनाले सत्ता सम्हालेपछि शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिएको छ । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि सेनाले सत्ता सम्हालेको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि निर्देशन दिइसक्नु भएको छ । त्यतिन्जेल मुलुकको शान्ति सुरक्षा सेनाले सम्हाल्ने बताइएको छ । सेनाको सञ्चार निर्देशनालय इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (अन्तवाहिनी जनसंयोग) ले मंगलबारदेखि सम्पूर्ण शैक्षिक संस्थाहरू खोल्न निर्देशन दिइएको जनाएको छ ।

ढाकामा केही विद्यालयहरू खुले पनि न्यून संख्यामा विद्यार्थी उपस्थित रहेको ढाका ट्रिब्युनले जनाएको छ । कक्षा ११ को भर्ना खुलिरहेकाले पनि केही विद्यार्थी आइरहेको उदयन उच्च माविकी प्राचार्य जोहरा बेगमले जनाएकी छन् । बुधबारदेखि भने शैक्षिक संस्थाहरूमा विद्यार्थीको उपस्थिति धेरै हुन सक्ने बताइएको छ । जुलाई १६ देखि विद्यार्थीहरूले आन्दोलन चर्काएपछि जुलाई १७ देखि बंगलादेशको शिक्षा मन्त्रालयले अनिश्चित कालका लागि शैक्षिक संस्थाहरू बन्द गर्न निदर्शेन दिएको थियो ।