अवैधानिक रूपमा बसेका नेपालीलगायत अन्य विदेशी कामदारमाथि निर्मम बन्दै साउदी अरेबिया।

एजेन्सी := साउदी अरबले गैरकानुनी रूपमा बसेका नेपालीलगायत अन्य विदेशी कामदारमाथि कारबाही तीव्र पारेको छ । साउदीले आवास, श्रम र सीमा उल्लंघन गर्नेहरूलाई धमाधम नियन्त्रणमा लिइरहेको जनाइएको छ ।

साउदीको आन्तरिक मन्त्रालयका अनुसार २५ जुलाईदेखि ३१ अगस्टसम्मको अवधिमा २१ हजार ४९ जनालाई पक्राउ गरिएको छ । जसमा १३ हजार २ सय ९ रेसिडेन्सी नियम, ५ हजार १ सय ७७ सीमा सुरक्षा र २ हजार ६ सय ६३ श्रम कानुन उल्लंघन गर्नेहरू रहेका छन् ।

१ हजार ५ सय ४० जनालाई अवैध रूपमा सीमा पार गर्ने प्रयास गरेकामा पक्राउ गरिएको छ । जसमा ४३ प्रतिशत यमनी, ५६ प्रतिशत इथियोपियाली र १ प्रतिशत अन्य राष्ट्रियताका रूपमा पहिचान गरिएको थियो । यसबाहेक, अवैध रूपमा राज्य छोड्न खोज्ने ४२ जनालाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

उल्लंघन गर्नेलाई ओसारपसार, आश्रय दिने र रोजगारी दिने पाँच जनालाई पनि पक्राउ गरिएको जनाइएको छ । घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिमानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

साथै, मन्त्रालयले मानिसहरूलाई मक्का, रियाद र पूर्वी प्रान्तका क्षेत्रहरूमा ९११ नम्बर र राज्यका बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बर हरूमा कल गरेर उल्लंघनका कुनै पनि घटनाहरू रिपोर्ट गर्न आग्रह गरेको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ ।

त्यस्तै साउदीमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमामबाट गरी ९९ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
समाचार स्रोत: राजधानी राष्ट्रिय दैनिक पत्रीका / योगेन्द्र योगी ।