काठमाडौं := फ्रान्सको पेरिसमा आयोजना हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झण्डा टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ र जुडो खेलकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने हुनुभएको छ ।
यही (शुक्रबार) साउन ११ देखि २७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटनमा स्यान्टु र मनिताले नेपालको झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा सहभागी हुन लाग्नुभएको हो ।
पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीको सहभागिता रहनेछ, जसमा स्यान्टु र मनितासहित ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ हुनुहुन्छ ।
ओलम्पिकमा सुटिङमा प्रदीप खाती, टेबलटेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुनेछ । ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकबिना खेल्नुपर्ने भएको छ । टिम डाक्टरमा नविसमान सिंह प्रधान हुनुहुन्छ ।
ओलम्पिकमा सहभागी हुनका लागि नेपाली टोलीका अधिकांश सदस्य पेरिस पुगिसकेका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ भने उद्घाटनका अवसरमा उपस्थित हुने कार्यक्रमम रहेको ओलम्पिक कमिटीले जनाएको छ । यस्तै, एथलेटिक्सतर्फ म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुने भएकाले त्यसमा सहभागी हुने खेलाडी सन्तोषी भने यही साउन १५ गते पेरिस प्रस्थान गर्ने तय भएको छ ।
सम्पूर्ण तयारी पूरा
सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३औँ संस्करण धुमधामका साथ आयोजना गर्न फ्रान्सको राजधानी पेरिसमा पूर्ण रूपमा तयारी गरिएको छ । यस ओलम्पिकमा चार नौला खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्नेछ ।
यस मेगा इभेन्टमा दुई सयभन्दा बढी देशका खेलाडी ३२ खेलमा प्रतिस्पर्धाका लागि उत्रनेछन् । यस खेलमा ३० हजार स्वयंसेवक परिचालन गरिनेछ । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुनेछन् । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेलस्थल तयार पारिएको छ । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिनेछ । अन्य खेल पेरिस आसपासका शहरमा सञ्चालन गरिने जनाइएको छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुनेछन् ।
एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने
पेरिस ओलम्पिक एक करोड तीस लाख मानिसले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । टेलिभिजनमार्फत् चार अर्ब मानिसले ओलम्पिक हेर्ने दाबी पनि आयोजकको छ । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ ।
नदी किनारमा उद्घाटन
पेरिस ओलम्पिकमा आयोजकले यसपालि परम्परालाई तोड्नै रंगशालाको सट्टा पेरिसको सिन नदीको किनारमा उद्घाटन गर्ने तयारी गरिरहेको छ । जहाँ खेलाडीहरू डुंगाबाट पुग्नेछन् । सन् २०१७ मा पेरिसले ओलम्पिक आयोजनाको अधिकार प्राप्त गरेपछि सिन नदीको सरसफाइ गरेर प्रदूषण हटाइएको थियो । यस नदीमा ट्रायथलन र लामो दूरीको पौडी प्रतियोगिता सञ्चालन गरिनेछ ।
सन् १९२४ मा सिन नदी प्रदूषित भएपछि यहाँ प्रतियोगिता सञ्चालन गर्न सय वर्षको प्रतिबन्ध लगाइएको थियो । जुन यस वर्ष सकिएको छ । यसैगरी आइफल टावरको तल रहेको चाम्प डे मार्समा हुने बिच भलिबलमा पनि ठूलो आकर्षण हुनेछ ।
२० हजार सैनिक र ४० हजार प्रहरी परिचालन
पेरिस ओलम्पिकमा सुरक्षा व्यवस्थाका लागि करिब २० हजार सैनिक र ४० हजार प्रहरी परिचालन गरिने बताइएको छ । यसबाहेक अन्य देशका थप दुई हजार सैनिक र पुलिस अधिकारीहरू पनि हुनेछन् ।
अत्यधिक गर्मीको चुनौती
पेरिस ओलम्पिकमा अत्यधिक गर्मी पनि चुनौती हुनेछ । गर्मीका कारण खेलाडीको स्वास्थ्यमा असर पर्न सक्छ । पेरिसमा जुलाई-अगस्टमा तापक्रम ३४ डिग्री हुने गर्दछ । यसैगरी आद्र्रता ७० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । यसबाहेक विश्वमा देखिएको लैंगिक विवाद, आर्थिक असमानताको मुद्दा, जातीय तनाव, अश्वेतमाथिको थिचोमिचो र युक्रेन र प्यालेस्टाइनमा मानवताविरोधी गतिविधि पनि पेरिस ओलम्पिकका चुनौती हुन सक्छन् ।