क्वालालम्पुर (मलेसिया):= मलेसियामा सडकछाप लुटेराहरुको आर्कमणमा परी घाईते भएका पिडीत बलदेव गिरीलाई उद्धार गरि स्वदेश फर्काईएको छ । गिरीलाई मलेसियन एयरलाईन्सको उडान मार्फत १८ जुलाईको दिन नेपाल फर्काईएको हो ।
सल्यान जिल्लाका बलदेव गिरी आजभन्दा पाँच बर्ष अगाडी मलेसिया आएका थिए । कम्पनी नै भए पनि सप्लायर्स कम्पनी परेपछि काम गर्ने ठाउँ र कामको प्रकृति सधै एकैकिसिमको थिएन । कहिले रेष्टुरेन्टमा काम गराउने, कहिले प्लास्टिक कम्पनीमा काम गराउने गर्न थाले पछि उनले नेपालबाट आएको कम्पनी छाडेका थिए ।
साथीहरुको लहैलहैमा लागेर कम्पनी छाडेका उनी जोहोरबारुको रबर खेतीमा काम गर्न पुगे । त्यहा पनि लामो समय टिकेनन्, साथीहरुको लहैलहैले उनलाई सेक्युरिटी गार्ड बनायो । त्यसयता बिभिन्न कम्पनीहरु चहारे पनि काम चै सेक्युरिटी गार्ड कै गरे । तर, अबैधानिक रुपमा काम गर्नु परेको कारणले सधै तलबमा ठगिनु परे पछि उनले त्यो काम पनि छाडे ।
स्थायी रुपमा काम नपाए पछि पछिल्लो समय उनी सडकको बास हुने अवस्थासम्म आईपुगेका थिए ।
सडकको बास हुदाकै अवस्थामा रहेको बेला सडकछाप लुटेराहरुको आक्रमणमा परेका बलदेवलाई पिएनसिसि द्वारा उद्धार गरि उपचार गराईएको थियो । उपचार पश्चात सेल्टर हाउसमा आश्रय दिई नेपाल फर्काउनको लागि एनआरएनए मलेसिया र पिएनसिसिले संयुक्त रुपमा समन्वय थालेको थियो ।
सो क्रममा नेपाल फर्कानको लागि आवश्यक कागजात पुरा गर्न नेपाली राजदूतवासले नि:शूल्क ट्राभल्स डकुमेन्ट उपलब्ध गराएको हो । त्यस्तै अध्यागमनमा लाग्ने शूल्क नेपाली जनसम्पर्क समिति मलेसियाका सदस्य तिलक चन्द ठकुरी र हवाई टिकट व्यवसायी दीपक बिष्टको पहलमा उपलब्ध गराइ सहयोग गरिएको हो ।
सडकबाट घाईते अवश्थामा उद्धार गरिएका बलदेवलाई उपचार पश्चात नेपाल नर्फिउन्जेल सम्मका लागि खाने ब्यवस्था देखि एयरपोर्टसम्मको प्रबन्ध पिएनसिसि मलेसिया र नेपाल पुगेपछि घरसम्म पुग्ने बाटो खर्चका साथै परिवारको जिम्मा लगाउने सम्मको कार्य पिएनसिसि केन्द्रीय कार्यलयले गरेको संयोजक पूर्ण लिम्बूले बताउनु भयाे ।




















