एजेन्सी:= बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन झन् चर्किएको छ। विश्वविद्यालयका विद्यार्थीहरूले गरेको प्रदर्शन देशव्यापी भएको छ । प्रधानमन्त्री हसिनाको सम्बोधनपछि बंगलादेशमा प्रदर्शनी झन् चर्किएको हो ।
बिबिसी बंगाली सेवाका अनुसार बंगलादेशका विभिन्न भागमा गरी कम्तीमा २५ जनाको मृत्यु भएको छ । साथै झडपमा सयौँ घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाको सम्बोधनपछि पनि प्रदर्शन रोकिएको छैन । बुधबार प्रधानमन्त्री हसिनाले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो । उहाँले आन्दोलनमा उत्रिएका विद्यार्थीलाई धैर्य रहन आग्रह गर्नुभएको थियो ।
उहाँले अदालती प्रक्रियाबाट सबैले न्याय पाउने बताउनुभएको थियो । तर, उहाँको सम्बोधनपछि प्रदर्शन झन् देशव्यापी बनेको हो । देशका विभिन्न स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ । बिहीबार साँझदेखि बंगलादेशका अधिकांश अनलाइन मिडियाहरूमा समाचारसमेत पोस्ट भएका छैनन् ।
साथै टेलिभिजन च्यानलहरू पनि सामाजिक सञ्जाल र युट्युबमा प्रत्यक्ष प्रसारणमा छैनन् । अधिकांश बंगलादेशी टेलिभिजन च्यानलहरूले युट्युबमा प्रत्यक्ष प्रसारण गर्छन् । बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो ।
गत महिना उच्च अदालतले निजामती सेवाको एक तिहाइ हिस्सा १९७१ मा बंगलादेश स्वतन्त्रता संग्राममा सहभागीहरूका सन्तानलाई छुट्याउने व्यवस्था पुनः लागू गर्न आदेश दिएको थियो । त्यसको विरोधमा विद्यार्थीहरूले जुलाई १ देखि प्रदर्शन सुरु गरेका हुन्, जसले गत सोमबारदेखि हिंसात्मक रूप लिएको थियो ।
बंगलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री राणाको चासो

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बंगलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाका बारेमा जानकारी लिनुभएको छ । मन्त्री डा. राणाले राजदूत भण्डारीलाई टेलिफोन सम्पर्क गरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।
सो क्रममा उहाँले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आ-आफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको परराष्ट्रमन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।
राजदूत भण्डारीले त्यहाँ सबै नेपाली सुरक्षित रहेका र उनीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गरिएको जानकारी गराउनुभयो ।
यस्तै त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कुनै अप्ठ्यारो परेमा सम्पर्कका लागि दूतावासका दुईजना अधिकारीको सम्पर्क नम्बर दिइएको तथा नेपाली विद्यार्थी अध्ययन गर्ने कलेज प्रशासनसँग दूतावास निरन्तर सम्पर्कमा रहेको जानकारी राजदूत भण्डारीले दिनुभयो ।




















