नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण पछि अन्य मन्त्रीले पनि लिए शपथ।।

काठमाडौं := नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ ग्रहण संगै २२ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएकाे छ । सोमवार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि मन्त्रिपरिषद गठन गर्नुभएकाे हो ।

प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको छ । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री हरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खोनपानीमन्त्री प्रदीप यादव, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी,स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज नै २२ सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको हो ।