काठमाडौं := नेपालको केहि म्यानपावर व्यवसायीहरुले मलेसियासंगै अन्य मुलुकमा ‘फ्री भिसा, फ्री टिकटभन्दा माथिको शून्य लागतमा नेपाली कामदार पठाउने गरेको तथ्य सार्वजनिक भएको छ ।
एयरपोर्ट नजिकै शम्भुमार्गमा रहेको आकर्षण इन्टरनेशनल प्रालिले विगत १० वर्षदेखि शून्य लागतमा कामदारहरूलाई वैदेशिक रोजगारीमा पठाउँदै आएको छ। चालु आर्थिक वर्षको हालसम्म दुई हजार ७०० भन्दा बढीलाई शून्य लागतमा वैदेशिक रोजगारीमा पठाएको प्रालिका अध्यक्ष विष्णु केसीले बताए ।
‘फ्री भिसा, फ्री टिकटभन्दा माथिको शून्य लागतमा कामदार पठाउँदै आएका छौँ । यो भनेको कामदारले एक पैसा पनि तिर्नु पर्दैन । घरबाट काठमाडौँ आउँदा, यता बस्दा र विदेश जाँदासम्मको खर्च कामदारलाई तिराउँदैनौँ,’ उनले भने, ‘यतिसम्म कि पासपोर्ट छैन भने त्यो बनाउन लाग्ने खर्चसमेत दिने गरेका छौँ ।’
शून्य लागत अनुसार नै कामदारको सम्पूर्ण खर्च तिर्न तयार हुने कम्पनीका लागि मात्रै काम गर्दै आएको उनको भनाइ छ । यसका लागि त्यो कम्पनीमा काम गर्न योग्य व्यक्तिलाई मात्रै एकदमै स्वच्छ र पारदर्शी तरिकाले छानेर पठाउने गरेको उनको भनाइ छ ।
‘जो कम्पनी कामदार ल्याउँदा लाग्ने सम्पूर्ण खर्च तिर्न तयार हुन्छन्, त्यो कम्पनीसँग मात्रै काम गर्छौँ,’ केसीले भने, ‘कामदार पठाइदिन भनेर धेरै कम्पनी आउँछन् तर, जो कम्पनीले कामदारको लागि लाग्ने खर्च तिर्छौँ भन्छन्, उनीहरूसँग मात्रै काम गर्छौँ । त्यही भएर सम्भव भएको हो ।’
आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले यो ‘फ्री भिसा, फ्री टिकट नीतिको प्रभावकारी कार्यान्वयनका लागि सबैभन्दा पहिला इच्छाशक्ति हुनुपर्ने बताए । सबैले यही नीति कार्यान्वयन गर्न सम्भव नहुने बताउँदै उनले भने, ‘त्यो हाम्रो कारणभन्दा पनि रोजगारदाताको कारण सम्भव हुँदैन । उनीहरूले नै सबै पैसा तिर्छौँ भन्यो भने हामीले शुल्क लिने कुरा हुँदैन । उनीहरूले पैसा तिर्दैनौँ भन्यो भने कामदारकै शुल्कमा पठाउनुपर्ने हुन्छ ।’
यसका लागि राज्यले व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । ‘अहिले केही व्यवसायीले मात्रै जसरी काम गर्दै आएका छन्, ती व्यवसायीलाई राज्यले प्रोत्साहन गरिदियो वा केही न केही सहुलियत दियो भने पो थप काम गर्ने हौसला प्रदान हुन्छ,’ अध्यक्ष केसीले भने ।
उनको जस्तै अन्य केही कम्पनीले शून्य लागत तथा फ्री भिसा, फ्री टिकटमार्फत कामदार पठाउँदै आएका छन् । गुड अलायन्स ओभरसिज, एजएसआई वल्र्डवाइड नेपाल, सोलो एशिया रिक्युटमेन्ट प्रालि, वाइस इन्टरनेशनल नेपाल, मिज्ञ ओभरसिज, सुनकोशी मेनपावर सर्भिसेज, नवजिवन इन्टरनेशनल, एटेभन्ड गोर्खा ओभरसिज, टाइटानिक मेनपावर, रिलायन्स एचआर सोलुसन, ब्रिटिस गोर्खा ओभरसिज, मिराकल इम्प्लोयमेन्ट सर्भिसेज र नासा ह्युमन रिसोर्स प्रालि लगायत कैयौं म्यानपावरले शून्य लागतमा फ्री भिसा, फ्री टिकटमा कामदार पठाउँदै आएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
[ कृष्णसिंह धामी/रातोपाटी ]




















