क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रोजगारी मा काम गर्न आएर बिगत १४ बर्षदेखि घरपरिवारसंग सम्पर्क बिच्छेद गरि मलेसिया बसिरहेका चन्द्र बहादुर लिम्बू विभिन्न संघसंस्थाको सहयोगमा स्वदेश फर्किएका छन् ।
उनी मलेसियन एयरको उडानबाट ८ जुलाई का दिन फर्किएका हुन । सन् २००१ मा मलेसिया आएका भद्रपुर न.पा. ३, झापाका चन्द्र बहादुर लिम्बूले सामाजिक संञ्जाल मार्फत आफू बिगत १४ बर्षदेखि परिवारको सम्पर्कमा नरहेको र हाल बिरामी भई साथीको कोठामा शरण लिईरहेको साथै नेपाल फर्कन लाग्ने खर्च नभएको हुदा स्वदेश फर्काई दिन सार्वजानिक रुपमा हारगुहार गरेपछि नेपाली राजदूतवाससंगको समन्व्वयमा पिएनसिसिले उद्धारको पहल थालेको थियो ।
नेपाली राजदूतवासले निशूल्क ट्राभल्स डकुमेन्ट र अबैधानिक बसोबास गरेबापत अध्यागमनमा बुझाउनु पर्ने शूल्क बेहोर्ने र पिएनसिसिले हवाई टिकट उपलब्ध गराउने भएपछि चन्द्र बहादुरको उद्धार सफल भएको हो। उद्धार गरिएको दिन देखि नेपाल नफर्किउन्जेलसम्म सेल्टरहाेममा बस्ने प्रबन्ध मिलाई दिने एनआरएन मलेसियाको पनि महत्वपूर्ण सहयोग रहेको छ ।
बेखर्ची अवस्थामा स्वदेश फर्किन लागेको उनलाई युमा साम्यो महासभा मलेसियाले पनि बाटो खर्च स्वरुप आरएम ३०० सहयोग गरेको छ । त्यस्तै सोही दिन उद्धार गरिएका अन्य दूईजना पिडीत पनि स्वदेश फर्किएका छन। यसरी फर्किनेमा बेचन शाहु हलुवाई र राजेन्द्र राम रहेका छन । उनीहरु दुवैजना सप्तरी जिल्लाबासी रहेका छन ।
आजभन्दा ९ बर्ष अगाडि मलेसिया आएका बेचन शाहुले करिव १७ महिनासम्म मात्र नेपालबाट आएको कम्पनीमा काम गरे । त्यसपछि कम्पनी छाडेर अबैधानिक भएका उनले विभिन्न ठाउँमा काम गरे । पछिल्लो समय काम गर्दैगर्दा प्रेसरले हानेर ढलेपछि भने उनी काम गर्न नसक्ने अवश्थका भए ।
आफन्तको सहयोगमा नेपाली राजदूतवास आईपुगेका बेचन शाहुलाई दूतवासले निशूल्क ट्राभल्स डकुमेन्ट र हवाई टिकट उपलब्ध गराएको हो । त्यसैैगरि सडकको बास भएका राजेन्द्र राम साथीको सहायताले दीपक बिष्टको सम्पर्कमा आईपुगेका थिए । बिष्टले उनलाई नेपाली राजदूतवाससम्म पुर्याएका हुन ।
उनको ट्राभल्स डकुमेन्ट, अध्यागमन शूल्क र हवाई टिकट लगायतका खर्च दूतवासले बेहोरेको हो ।
एनआरएनएले उपलब्ध गराएको सेल्टर हाउसमा आश्रय लिएका चन्द्र बहादुर लिम्बू, बेचन शाहु हलुवाई र राजेन्द्र रामको खाने प्रबन्ध पिएनसिसि मलेसियाले मिलाएको हो ।
पछिल्लो केहि बर्षदेखी मलेसियास्थित नेपाली राजदूतावासले आफ्नै सक्रियतामा पनि यहाँ विभिन्न समस्यामा रहेका सयौं नेपाली श्रमिकको उद्दार गरि स्वदेश फर्काउने काम सक्रिय रुपमा गर्दै आएका छ्न ।




















