एजेन्सी := अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा क्यानडालाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।
खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरेका थिए ।
खेलको ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । प्रतियोगितामा मेसीको यो पहिलो गोल हो। यो गोलसँगै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक १०९ गोल गरेका छन् ।
मेसीले सहभागीता जनाएका ६ वटा कोपा अमेरिका प्रतियोगितामा गोल गरेका छन् । मेसीले २००७ देखि अहिलेसम्म ६ वटा कोपा अमेरिकामा गोल गरेका हुन् । २००७, १०१५, २०१६, २०१९, २०२१ र २०२४ मा गोल गर्न सफल भएका हुन् ।
कोपा–अमेरिका फुटबलको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल राष्ट्र हो । कोपा–अमेरिकामा अर्जेन्टिनाको यो ४४औँ सहभागिता हो । अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ भने १४ पटक उपविजेता बनेको छ ।