एजेन्सी := भारतीय क्रिकेट खेलाडीका पूर्व राष्ट्रिय ओपनर गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको पदमा नियुक्त भएका छन्। गम्भीर सन् २००७ मा टी ट्वेन्टी र २०११ मा भारतले एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले ४२ बर्षिय गम्भीरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको मंगलबार जानकारी दिएका छन्। गम्भीर टेस्ट, एक दिवसीय र टि ट्वान्टी तीनवटै ढाँचाका प्रशिक्षक नियुक्त भएका हुन्।
यसअघि राहुल द्रविड भारतीय टोलीलाई प्रशिक्षण दिदै आएका थिए। उनको प्रशिक्षणमा भारतले हालै आइसिसी टी ट्वेन्टी विश्वकपको उपाधि जितेको थियो।गम्भीरको कार्यकाल साढे ३ वर्षको हुने छ। भारतले गत साता आइसिसी टी–२० विश्वकप जितेपछि मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिएको थियो ।
भिभिएस लक्ष्मणले मुख्य प्रशिक्षकमा चासो नदेखाएपछि गम्भीरले जिम्मेवारी पाएका हुन् । द्रविडको कार्यकाल सकिएको एक सातापछि नै बिसिसिआईले नयाँ मुख्य प्रशिक्षक चयन गरेको हो । गम्भीरले डेढ महिनाअगाडि मेन्टरका रूपमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सलाइ दिलाएका थिए ।
यसैगरी, उनले मेन्टरकै रूपमा लखनउ सुपर जायन्ट्सलाई दुईपटक आइपिएलको प्ले–अफसम्म पुर्याएका थिए । गम्भीर एकदमै अनुभवी खेलाडी भनेर पनि चिनिन्छ् ।