एजेन्सी := फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन उपाधिनजिक पुगेको हो ।
स्पेन १२ वर्षपछि युरोको फाइनलमा पुग्न सफल भएको हो। स्पेनलाई फाइनल पुर्याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेपनि पर्याप्त हुन सकेन।
खेलको नवौँ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता धेरै बेर टिकेन। २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।
गोल गर्ने खेलाडी थिए १६ वर्षीय लामिन यमाल। बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो। २५औं मिनेटमा स्पेनले अग्रता लियो। जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको थियो।
उनले बललाई सुन्दर ढंगले बल नियन्त्रणमा लिएर गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो। त्यसपछि खेलमा कुनै गोल भएन र स्पेन फाइनलमा पुग्न सफल भएको छ। स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्ने छ।