एजेन्सी := पोर्चुगललाई हराउँदै फ्रान्स युरो कप फुटबल-२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो। पोर्चुगललाई ५-३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो।
फ्रान्सका लागि औसमाने डेम्बेले, युसुफ फोफाना, जुल्स कौंडे, ब्राडली बारकोला र थियो हर्नान्डेजले गोल गरे भने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बर्नाडो सिल्भा र नुनो मेन्डेसले गोल गर्दा जोआओ फेलिक्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो।
प्रतियोगिताको सेमिफाइनलमा फ्रान्स पुगेको यो छैटौँ पटक हो । योसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको दोस्रोपटक युरोकपको उपाधि जित्ने सपनामा चकनाचुर बनेको छ । उनले यसअघि नै यो आफ्नो अन्तिम युरो हुने बताइसकेका छन् ।

रोनाल्डोले सन् २००४ देखि नियमित रूपमा युरोकपमा सहभागिता जनाउँदै आएका छन् । उनी युरोकपमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी पनि हुन् । उनी युरोकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् ।
दुई देशबिचको खेललाई ३९ वर्षीय रोनाल्डो र फ्रान्सका किलियान एम्बाप्पेबिचको भिडन्तको रूपमा पनि व्याख्या गरिएको थियो । तर, दुवै खेलाडीले खेलमा खासै योगदान दिन सकेनन् ।
अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । गए रातीनै भएको अर्को खेलमा आयोजक जर्मनीलाई स्पेनले अतिरिक्त समयमा पाखा लगाउँदै अन्तिम चारमा पुगेको हो । मंगलबार हुने सेमिफाइनल खेल म्युनिखमा खेलिनेछ ।




















