रवि लामिछाने पनि देउवा, प्रचण्ड र ओली प्रवृत्ति आत्मसात गर्दै अगाडि बढ्दै हुनुहुन्छ: महामन्त्री ढकाल।

काठमाडौं := राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले रवि लामिछानेमा देउवा, प्रचण्ड र ओली प्रवृत्ति दोहोराएको बताउनु भएको छ ।बुधबारको केन्द्रीय समिति बैठकले सात दिनका लागि निलम्बन गरेपछि पत्रकारसँग कुरा गर्दै ढकालले रविलाई सच्याउनका लागि र नेताबाट राजनेता बनाउनका लागि गरेको दाबी गर्नुभएको छ ।

तर रवि लामिछानेले त्यसको अनुभूति नगरेको उहाँको भनाइ छ। पार्टीभित्र रवि प्रवृत्तिको विरोध आफूले गर्नैपर्ने भएकाले गरेको दाबी उहाँको छ। उहाँले भन्नुभयो ,‘राष्ट्रिय स्वतन्त्र सभापति रवि लामिछानेमा देउवा प्रवृत्ति, ओली प्रवृत्ति र प्रचण्ड प्रवृत्ति देखिन्छ भने रवि प्रवृत्तिको विरोध मैले गर्नुपर्छ। र त्यही कुरा मैले गरेको हुँ। त्यो विरोध मैले उहाँलाई सच्याउनका लागि गरेको हुँ। मैले उहाँलाई नेताबाट राजनेता बनाउनका लागि विरोध गरेको हुँ। तर कताकता उहाँले त्यसको अनुभूति गर्नु भएन।’