सगरमाथा म्युजिक अवार्डको छैटौं संस्करण थाइल्याण्डमा सम्पन्न, कैयौं स्रष्टा सम्मानित।

काठमाडौं := सगरमाथा म्युजिक अवार्डको छैटौं संस्करण थाइल्याण्डमा सम्पन्न भएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंकक सहरमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न विधामा कलाकार, पत्रकार तथा समाजसेवीलाई सम्मान र अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत र अतिथिद्वय एनआरएनए थाइल्याण्डका सल्लाहकार डेभिड खनाल र नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्रले १३ जनालाई विभिन्न विधामा अवार्ड र पाँच जनालाई सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड ‘फूलको माला’ गीतबाट उद्धव कार्कीले तथा सोही विधाको जुरी अवार्ड भाग्यमा विछोड गीतबाट राजु सापकोटालाई प्रदान गरिएको थियो ।

यस्तै, पप आधुनिक गायकको अवार्ड ‘जुन मायाको पूजा गरे’ गीतबाट नारायण थापाले, सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड ‘सोल्टीनीको रेशमी केश’ गीतबाट तृष्णा घर्तीमगरले, यसै विधामा जुरी अवार्ड ‘मुस्कानै मीठो’ गीतबाट सीमा थापाले, लोकपप गायिकाको अवार्ड ‘चुम्पा चपक्कै’ गीतबाट सुमी पराजुलीले, लोकपप गायकको अवार्ड ‘उमेर सत्र भयो’ गीतबाट राजेश बर्देवाले, पप आधुनिक युगल गायनको अवार्ड ‘मलाई मन परेको मान्छे’बाट दीपक चौलागाईले प्राप्त गर्नुभएको छ । त्यस्तै नव प्रतिभा गायनमा ‘मलाई तिमी हौ’ गीतबाट रोम श्रेष्ठले अवार्ड पाउनुभयो ।

आधुनिक महिला मोडलको अवार्डमा ‘माया गरेउ’ गीतबाट प्रतीक्षा काफ्लले, पप महिला मोडलको अवार्ड ‘कसम होला’ गीतबाट दिया जिसीले, नव मोडल महिलामा ‘कास्कीको फेवाताल’बाट मुना भुर्तेलले, नवमोडल पुरुषमा ‘जिन्दगानी छोटो छ’ गीतबाट प्रताप मर्दन बस्न्यातले अवार्ड जित्न सफल हुनुभएको छ ।

कार्यक्रममा सगरमाथा कला सम्मानबाट कलाकार सविना आचार्य, सोनिया राई र गायक विकी सिञ्चौरी सम्मानित हुनुभयो । सिञ्चौरी थाई नागरिक भए पनि नेपाली गीत गाएर चर्चामा आउनुभएको थियो । त्यस्तै सगरमाथा आर्थिक पत्रकारिता अवार्ड अर्थ सरोकार डटकमका पत्रकार सुरज प्याकुरेललाई प्रदान गरिएको थियो ।

सगरमाथा आर्थिक पत्रकारिता सम्मानबाट सुदर्शन श्रेष्ठ र सगरमाथा सम्मानबाट हेमेन्द्र घर्तीमगर सम्मानित हुनुभयो। सो अवसरमा बोल्दै प्रमुख अतिथि बस्नेतले नेपाली कला र संस्कृतिलाई विश्वमाफ फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले गैरआवासीय नेपाली कला संस्कृतिको जगेर्नामा सधैं लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकले प्रायोजन गरेको छैटौं सगरमाथा म्युजिक अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट विशिष्ठ गीतकार कालिप्रसाद रिजाल, सगरमाथा रजत कला पत्रकारिता सम्मानबाट रमण घिमिरे सम्मानित हुने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिनुयभयो ।

बैंककमा भएको कार्यक्रममा आयोजक कमिटीका सनम कठायत, उषा सुवेदी, कुशल खत्री, मुकुन्द बस्नेतको पनि उपस्थिति थियो । अवार्ड प्रदान गर्न बाँकिरहेका राष्ट्रिय, चलचित्र, पप-आधुनिक र लोक दोहोरीलगायत अन्य विधाका विजेतालाई काठमाडौंमा विशेष कार्यक्रम गरी अवार्ड प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी गराउनुभयो ।