एजेन्सी := स्लोभेनियालाई पेनाल्टी सुटआउटमा हराउँदै पूर्वविजेता पोर्चुगल युरोकप फुटबल २०२४ प्रतियोगीताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पेनाल्टी सुटआउटमा पोर्चुगल ३–० गोलले विजयी हुदै क्वाटरफाइनलमा पुगेको हो । यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगलले पेनाल्टीमार्फत खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको थियो ।
तर, क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके । एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले रोनाल्डोको प्रहार बचाऊ गर्न सफल भए । अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा भने रोनाल्डोले पहिलो प्रहार नै गोलमा परिणत गरे ।
त्यसपछि ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले पनि पोर्चुगलका लागि गोल गरे । पोर्चुगलका डिओगो कोस्टाले स्लोभेनियाका सबै प्रहार रोकेका थिए । पेनाल्टी सुटआउटमा पोर्चुगलको जितका नायक गोलकिपर डिओगो कोस्टा बनेका थिए ।
पोर्चुगलले अब अन्तिम ८ मा जुलाई ५ तारिख फ्रान्सको सामना गर्नेछ । फ्रान्स बेल्जिमलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको हो त्यस्तै हारसँगै स्लोभेनियाको युरोकप यात्रा समाप्त भएको छ ।




















