एजेन्सी := भारतीय टी-२० क्रिकेट टोलीका कप्तान रोहित शर्माले सन्न्यास घोषणा गरेसँगै टिमको नयाँ नेतृत्वबारे चर्चा सुरु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार कप्तानमा हार्दिक पाण्ड्या, ऋषभ पन्त र शुभमन गिलको चर्चा छ ।
भारतीय टिमको कप्तान बन्ने दौडमा हार्दिक पाण्ड्या सबैभन्दा अगाडि हुनुहुन्छ । उहाँलाई टी-२० विश्वकपका लागि भारतीय टोलीको उपकप्तान पनि नियुक्त गरिएको थियो । त्यसैले उहाँ भारतको अर्को कप्तान बन्ने अपेक्षा गरिएको छ । पाण्ड्याले कप्तानका रूपमा गुजरात टाइटन्सलाई आइपिएलमा च्याम्पियन बनाउनुभएको थियो । आइपिएल टिम मुम्बई इण्डियन्समा रोहितलाई प्रतिस्थापन गरेर कप्तान भए पनि सिजन भने खराब रहृयो ।
भारतीय टिमको कप्तानीका लागि ऋषभ पन्त पनि उत्कृष्ट विकल्प मानिनुहुन्छ । आइपिएलमा दिल्ली क्यापिटल्सको कप्तानी गरेको अनुभव उहाँसँग छ । यसबाहेक उहाँ विकेटकिपर हो । विकेटको पछाडि बसेर खेललाई राम्रोसँग नियन्त्रण गर्न सहज हुने अपेक्षा छ ।
रोहित र विराट दुवैले सन्न्यास लिएसँगै शुभमन गिलका लागि ठाउँ खाली भएको छ । उहाँ टोलीमा छनोट हुन सक्नुहुनेछ । शुभमन गिल पनि कप्तानका लागि राम्रो विकल्प हो । उहाँ निकै शान्त खेलाडी मानिनुहुन्छ । उहाँसँग कप्तानीको अनुभव पनि छ ।




















