दक्षिण अफ्रिका र इंग्ल्याण्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश।

एजेन्सी := दक्षिण अफ्रिका र इंग्ल्याण्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन् । ‘सुपर-८’ चरणअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा आयोजक वेष्ट इण्डिजलाई तीन विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । यसअघि आइतबार राती अमेरिकाविरुद्ध सानदार जित निकाल्दै इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाको यो लगातार सातौँ जित हो । दक्षिण अफ्रिका सुपर-८ को ग्रुप ‘बी’ बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिका टी-२० विश्वकप इतिहासमा तेस्रोपटक सेमिफाइनलमा पुगेको हो । यसअघि टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो ।

आयोजक वेष्ट इण्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ । अर्को आयोजक राष्ट्र अमेरिका पनि यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । १३६ रनको लक्ष्य पछ्याउनेक्रममा वर्षाका कारण खेल रोकिएको थियो । पुनः खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।

दक्षिण अफ्रिकालाई जित दिलाउन ट्रिस्टन स्टब्सले २९ रनको योगदान गर्नुभयोे । हेनरिच क्लासनले पनि टोलीको खातामा २२ रन थप्नुभयो । कप्तान एडन माक्र्रमले १८ र ओपनर क्विन्टन डी काकले १२ रन बनाउनुभयो । मार्को यानसेनले टोलीका लागि अविजित २१ रनको योगदान गर्नुभयो । क्यारेबियन टोलीका बलर रोस्टन चेजले तीन विकेट लिनुभयो ।

आन्द्रे रसेल र अल्जारी जोसेफले पनि दुई-दुई विकेट हात पार्नुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजका लागि रोस्टन चेजले अर्धशतक बनाउनुभएको थियो । ओपनर कायल मायर्सले पनि ३५ रन बनाउनुभएको थियो । दक्षिण अफ्रिकाका बलर ताबरिज सामसीले तीन विकेट लिनुभयो । कागिसो राबडा, केशव महाराज, एडन माक्र्रम र मार्को यानसेनले पनि दक्षिण अफ्रिकाका लागि एक-एक विकेट हात पार्नुभयो ।

यसअघि आइतबार राती सम्पन्न खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने पहिलो टोली बनेको थियो । जितका लागि अमेरिकाले दिएको ११६ रनको लक्ष्य इंग्ल्याण्डले ९.४ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्‍यो । इंग्ल्याण्डको जितमा कप्तान जश बटलरले सर्वाधिक ८३ रनको योगदान गर्नुभयो । एकै ओभरमा उहाँले ३२ रन जोड्दै इंग्ल्याण्डलाई सेमिफाइनलमा डोर्‍याउनुभएको हो ।

८.१ ओभरमा १ रन लिनुभएका उहाँले दोस्रो, तेस्रो, चौथो तथा पाँचौँ बलमा लगातार छक्का प्रहार गर्नुभयो । त्यसपछि वाइड बलमा एक रन पाउनुभएका उहाँले ओभरको अन्तिम बलमा पनि छक्का हिर्काउनुभएको थियो । फिलिप साल्टले २५ रन जोड्नुभयो । अमेरिकी बलरले जश बटलर र फिलिप साल्टको ओपनिङ साझेदारी तोड्न सकेनन् ।

त्यसअघि केन्सिङ्टन ओवल, ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङमा आएको अमेरिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो । उसका लागि नितिश कुमारले सर्वाधिक ३० तथा कोरी एन्डरसनले २९ रनको योगदान गर्नुभयो । हर्मित सिंले २१ रन बनाउँदा स्टेभेन टेलरले १२ रन जोड्नुभयो । कप्तान आरोन जोन्स १० रनमा समेटिनुभयो ।

बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले हृयाट्रिक विकेट लिनुभयो । जारी टी-२० विश्वकपमा हृयाट्रिक गर्ने उहाँ दोस्रो बलर बन्नुभएको छ । यसअघि अस्ट्रेलियाका प्याट कमिन्सले यो विश्वकपमा दुईपटक हृयाट्रिक गर्नुभएको छ । तीनवटै खेल खेलेपछि इंग्ल्याण्ड सुपर-८ को समूह ‘बी’को शीर्ष स्थानमा पुगेको छ ।