काठमाडौं := सातौं संस्करणको ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ न्यूयोर्कको क्विन्समा हुने भएको छ । ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको यो अवार्डको सातौं संस्करण अमेरिकाको न्यूयोर्क शहरको मेलरोज बलरुममा २०२४ सेप्टेम्बर १५ तारिखमा हुने भएको हो ।
अवार्डको मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले सेप्टेम्बर २८ मा आयोजना गरिने भनेर घोषणा गरिएको उक्त अवार्ड कार्यक्रम प्राविधिक कारणले गर्दा सेप्टेम्बर १५ सारिएको जानकारी गराउनुभयो ।
चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले यो अवार्डको आयोजना गरिँदै आएको र यसवर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैँ न्यूयोर्क शहरमा हुने नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताउनुभयो ।
एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह–प्रयोजनमा हुने यो संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहेको अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी गराउनुभयो ।
अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली चलचित्रको प्रवद्र्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजक संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिलकुमारी केसी मेमोरियल फाउण्डेशन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले बताउनुभयो ।
‘नेपाललाई चलचित्र पर्यटनको गन्तव्य बनाउन अवार्डले भूमिका खेल्नेछ’, केसीले भन्नुभयो । अवार्डका लागि नेपालबाट अमेरिका आउने कलाकार र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विश्व माझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्नु पनि अवार्डको उद्देश्य रहेको त्रिवेणी इन्टरटेनमेन्ट एसएलसी न्यूयोर्कका अर्का आयोजक खमलाल भट्ट बताउनुहुन्छ ।
नेपाली चलचित्रको युग परिवर्तन भएको र नेपाली चलचित्रहरू पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकोले नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि पनि यो अवार्ड महत्वपूर्ण रहेको छ । अमेरिकामा नेपालबाट धेरै कलाकारहरू पुगेका छन्, उनीहरूसँग पुनर्मिलन गर्नु पनि अवार्डको अर्को उद्देश्य हो।
संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य रहेको कृष्ण मल्ल बताउनुहुन्छ । अवार्डका अघिल्ला ६ संस्करण कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलतापूर्वक सम्पन्न भएका थिए ।