युएई := नेपाली गायक महेश काफ्लेले गायिका अस्मिता अधिकारीसँग इन्गेजमेन्ट गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यसको घोषणा गर्नुभएको हो ।
दुबईको बुर्ज खलिफाको सामुन्ने तस्वीर खिचाउँदै काफ्लेले लेख्नुभएको छ, ‘सहयात्राको यो सुरुवात । हामी इन्गेज्ड भएका छौं । अस्मिता अधिकारी आई लभ यू ।’ अस्मिता र महेशले दुबईको प्रख्यात बुर्ज खलिफा नजिक रहेको विङ्स अफ मेक्सिकोमा मंगलबार औंठी साटासाट गर्नुभएको हो ।
विश्वकै अग्लो भवन बुर्ज खलिफाअगाडि बसेर उनीहरूले एकअर्कालाई इन्गेजमेन्टको औंठी लगाइदिए । त्यसपछि अस्मिताले दुई आत्मा एक भएको कुरा लेखेकी छन् । उनले आफूहरू सधैँका लागि एक भएको पनि बताएकी छन् ।
अन्तर्राष्ट्रिय कलाकार समाज (र्ईनास) आबुधावी क्षेत्रीय समितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रमका लागि उहाँहरू केही दिनअघि दुबई पुग्नुभएको थियो ।
१३ जुनमा महेश र अस्मिता दुबई जानुभएको थियो । जुन १५ उहाँहरू इनास आबुधावीले गरेको कार्यक्रममा सहभागी हुनुभयो । त्यसपछि आइतबार इदको कार्यक्रममा प्रस्तुति दिनुभएको थियो ।
गायक काफ्ले र अधिकारी लामो समयदेखि प्रेम सम्बन्धमा हुनुहुन्थ्यो । अहिले उहाँहरूले आफ्नो सम्बन्धलाई छिट्टै बिहे गर्ने वाचासहित औपचारिकता दिनुभएको हो । उहाँहरू दुवैका केही नेपाली गीत चर्चामा छन् ।