काठमाडौं := महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्नो समुदायको संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिलो सोही समुदायको दायित्व बढी हुने बताउनुभएको छ ।
थारू कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा काठमाडौंमा आयोजना भएको ‘थारू भाषा संस्कृतिसम्बन्धी अन्तक्र्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो धारणा राख्नुभएको हो ।
संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उहाँले त्यसपछि राज्य र समाजको हुने बताउनुभयो । थारु जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उहाँले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।
ठाउँ अनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताउनुभयो। उहाँले थारू जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
सोझो जातिको रूपमा चिनिने थारू जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्बासी बनाएको उदाहरण दिँदै उहाँले आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताउनुभयो । मन्त्री चौधरीले जन्मदेखि मृत्यु पछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । थारू भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा आवश्यक रहेको उहाँको धारणा थियो ।




















