आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग जम्मा १ रनले हार्यो।

एजेन्सी := आईसीसी टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग जम्मा १ रनले पराजित भएको छ । सनसनीपूर्ण खेलमा अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल ७ विकेटको क्षतिमा १ रनले पराजित भएको हो ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११४ रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाउनु भयो । ४९ बलको सामना गर्नुभएका उहाँले चार चौका र एक छक्का प्रहार गर्नु भएको हो ।

अनिल शाहले ३७ रन बनाउनु भयो। उहाँले २४ बलको सामना गर्दै तीन चौका र एक छक्का प्रहार गर्नुभयो ।कुशल भुर्तेलले २१ बलको सामना गर्दै १३ रन बनाउनुभयो भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालको मध्यक्रमको ब्याटिङ कमजोर हुँदा जित नजिक पुगेको खेल गुमएको हो ।