टी-२० विश्वकपको दोस्रो खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दै।

काठमाडौं := नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी टी-२० विश्वकपको दोस्रो खेलमा आज (बुधबार) श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार आज बिहान सबा ५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ । पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको थियो ।

नेपालले यसपछि समूहको अन्तिम दुई खेल भने सेन्ट भिन्सेन्टको आर्नस भेल रंगशालामा खेल्नेछ । दुई खेलमा लेग स्पिनर सन्दीप लामिछानेले पनि खेल्नुहुनेछ । प्रतिश जिसीको स्थान सन्दीप लामिछानेले लिएकाले टोलीमा १४ सदस्यमात्र छनोटका लागि योग्य हुनेछन् । सन्दीप टोलीमा जोडिने क्यानले जनाइसकेको छ ।

नेपाल र श्रीलंकाले सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गर्दैछन् । उमेर समूहमा भने पटक–पटक भेट भएको इतिहास छ । सन् २०१६ को यू-१९ एसिया कपमा कामिन्डु मेन्डिसको कप्तानीमा रहेको श्रीलंकासँग नेपाल १ रनले पराजित भएको थियो ।

हाम्रो मनोबल बढेको छ, श्रीलंकालाई हराउने अवसर छ : कप्तान पौडेल

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले श्रीलंकाविरुद्ध खेल नेपालका लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरका रूपमा रहेको बताउनुभएको छ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढेको बताउनुभयो ।

‘एसोसिएट टिमले टेस्ट राष्ट्रहरूलाई हराएका छन् । यसले हाम्रो मनोबल बढेको छ,’ उहाँले भन्नुभयो, ‘हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौँ । हामीले यसका लागि दुई महिनादेखि विश्वकप लक्षित तयारी गरेका छौँ र डेढ वर्षदेखि नियमित क्रिकेट खेलेका छौँ । हामीमा सधैँ विश्वास छ ।’

रोहितले श्रीलंकाका स्पिनरहरू राम्रो रहे पनि नेपाल तयार रहेको बताउनुभयो । ‘श्रीलंकामा राम्रा स्पिनर छन् जसले विश्वभर क्रिकेट खेलेका छन् । हामीले त्यो पक्षमा ध्यान दिनुपर्छ । तर, सबै २० टोली हेर्दा सन्तुलित नै देखिन्छन् । हामीले बुधबार गएर विश्वसामु आफ्नो प्रतिभा देखाउने हो,’ उहाँले भन्नुभयो ।