काठमाडौं := नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा एपीएफ क्लबकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा कृषि विकास बैंकको सद्भावना दूत नियुक्त हुनुभएको छ। बैंकले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै साम्बालाई सद्भावना दूत घोषणाा गरेको हो ।
सम्झौतापत्रमा बैंकका मार्केटिङ एण्ड सेल्स डिपार्टमेण्टका हेड यज्ञप्रसाद न्यौपाने र साम्बाले हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार साम्बा एक वर्षका लागि बैंकको ब्राण्ड एम्बेसडरका रूपमा रहनुहुने छ ।
सो अवसरा बैंकका सिईयो गोविन्द गुरुङले सफलतालाई संघर्ष र अभावले कहिल्यै नरोक्ने बताउँदै उहाँको लगावले नै यो सफलता पाउन सम्भव भएको बताउनुभयो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले यो सम्झौताले महिला फुटबलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साम्बाले सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । दक्षिण एसियाकै सर्वाधिक गोलकर्तासमेत रहनुभएकी साम्बाले ५१ खेलमा ५३ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ ।