भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले फुटबल खेलबाट सन्यास लिए।

नयाँदिल्ली:= फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्दै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले फुटबलबाट सन्न्यास लिनुभएको छ । कोलकताको साल्ट लेक स्टेडियममा भएको खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्दै भारतले अंक खोसेको थियो ।

भारतीय टोलीका कप्तान क्षेत्रीले कुवेतविरुद्धको खेलमा अन्तिम पटक भारतीय टोलीको जर्सी लगाउनुभएको हो । ३९ वर्षीय सुनिलले कुवेतविरुद्धको खेल सकिएसँगै बुट थन्क्याउनुभएको छ । यसअघि नै सन्न्यास लिने घोषणा गरिसकेका सुनिलले बिहीबार रातिको खेलसँगै सन्न्यास लिनुभएको हो ।

कुवेतविरुद्धको खेलअघि कप्तान क्षेत्रीले आफूले यो आफ्नो लागि अन्तिम खेल रहेको रहेको सोच्न पनि नचाहेको बताउनुभएको थियो । आफू सन्न्याससँगको सानो लडाइमा रहेकाले यो क्षणको बारेमा धेरै नसोध्न उहाँले आग्रहसमेत गर्नुभएको थियो ।

उहाँले आफ्नो यो भावनालाई कहि कतै व्यक्त गर्न नसक्ने बताउनुभएको थियो । सन् २००५ मा पाकिस्तान विरुद्धको खेलबाट भारतीय टोलीमा डेब्यु गर्नुभएका सुनिलले सन् २०१२ देखि टोलीको कप्तानी सम्हालिरहनुभएको थियो ।

कप्तान क्षेत्रीले भारतीय टोलीबाट १५१ खेलमा ९४ गोल गर्नुभएको छ । उहाँ क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीपछि सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा हुनुहुन्छ । सन्न्यासलिँदै गर्दा कुवेतविरुद्धको खेलका क्रममा उहाँलाई भारतीय टोलीले सम्मान व्यक्त गरेको थियो ।