काठमाडौं := अमेरिकाले यसपालि (२०२४)को टी-२० विश्वकप आयोजना गर्दैछ । वेष्ट इण्डिज र अमेरिकाले संयुक्तरूपमा टी-२० विश्वकप आयोजना गर्न लागेका हुन्। अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ठूलो प्रतियोगिता आयोजना गरेको यो पहिलोपटक हुनेछ ।
वेष्ट इण्डिजले यसअघि दुईवटा ठूला विश्वकप आयोजना गरिसकेको छ । २००७ मा एकदिवसीय विश्वकप र २०१० मा टी-२० विश्वकप वेष्ट इण्डिजमा खेलिएको थियो । जुन १ बाट सुरु हुने टी-२० विश्वकपले अमेरिकामा फेरि क्रिकेट क्रेज बढ्ने विश्वास छ ।
आइसिसीले अमेरिकामा तीन करोड क्रिकेट फ्यान रहेको दाबी गरेको छ । अमेरिकाका तीन स्थानमा विश्वकपका जम्मा १६ खेल हुनेछन् । टी-२० विश्वकपको पहिलो खेल जुन १ मा आयोजक संयुक्त राज्य अमेरिका र क्यानडाबीच हुनेछ । फाइनल जुन २९ मा हुनेछ । पहिलो खेल डालासमा हुनेछ भने फाइनल बार्बाडोसमा हुनेछ । यो विश्वकप कुल नौ स्थानमा खेलाइनेछ ।
विश्व क्रिकेटमा आर्थिकरूपमा भारतले प्रभुत्व जमाएको छ । क्रिकेट क्रेजीहरू पनि सबैभन्दा धेरै भारतमै छन् । क्रिकेटका ९० प्रतिशत क्रेजीहरू पनि भारतसहित दक्षिण एसियामै रहेको एक तथ्यांकले देखाएको छ । त्यसो भए अब प्रश्न उठ्छ टी-२० विश्वकप किन अमेरिकामा आयोजना गरियो ?
दक्षिण एसियाली जनसंख्यासँगै बढ्यो क्रिकेट क्रेज
अमेरिका विश्वभरका मानिसहरू बसोबास गर्ने थोरै देशहरूमध्ये एक हो । देशको जनसंख्या ३३ करोडभन्दा बढी छ, जसमध्ये करिब चार करोड ५० लाख अन्य देशबाट आएका आप्रवासी छन् ।
जसमध्ये ५० लाख दक्षिण एसियाली छन् र करिब एक करोड ५० लाख मानिस क्रिकेट दर्शक बढी हुने देशका छन् । जसमा अस्ट्रेलिया, अफ्रिका, युरोप र वेष्ट इण्डिजका छन् । यसको मतलब अमेरिकामा हुने १६ खेलमा शीर्ष टोलीका लागि समर्थनको कुनै कमी हुनेछैन ।
भारत र पाकिस्तानबीचको खेल नौ जुनमा न्युयोर्कमा हुनेछ । यसको टिकट ८० हजारदेखि १६ लाखसम्म बिक्री भएको थियो । ३४ हजार दर्शक क्षमता भएको स्टेडियममा सबै टिकट बिक्री भइसकेको छ । अमेरिकामा दक्षिण एसियाली जनसंख्या बढेसँगै क्रिकेटको चलन पनि बढेको छ ।
जिडिपीको हिसाबले अमेरिका विश्वको सबैभन्दा धनी देश हो । यदि यहाँ क्रिकेट क्रेज बढ्यो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ठूला अमेरिकी कम्पनीहरूलाई प्रायोजनका लागि लक्षित गर्नेछ । यसले अन्तर्राष्ट्रिय क्रिकेटमा पैसाको प्रवाह तीव्ररूपमा बढ्ने विश्वास छ ।
अहिले क्रिकेटमा सबैभन्दा धेरै पैसा भारतीय बोर्डसँग छ। अमेरिकामा क्रिकेट सफल भएमा आइसिसीको आम्दानी पनि बिसिसिआईसँग प्रतिस्पर्धा गर्ने स्थितिमा पुग्न सक्छ ।
क्रिकेटलाई विश्वव्यापी बनाउने योजना
सन् २०२८ मा अमेरिकामा हुने ओलम्पिक खेलमा क्रिकेट समावेश छ । टी–२० विश्वकपमा १६ खेलको आयोजना गरेपछि अमेरिकाले ओलम्पिकमा पनि क्रिकेट खेल राम्ररी आयोजना गर्ने हो भन्ने स्पष्ट हुनेछ । ओलम्पिकमा २०६ देशको सहभागिता रहनेछ भने अहिलेसम्म क्रिकेट १०३ देशमा मात्र पुगेको छ ।
क्रिकेट अमेरिका र ओलम्पिकमा सामेल भएसँगै खेल विश्वव्यापीरूपमा बढ्नेछ । अमेरिका र ओलम्पिकको सहयोगमा धेरै देशले क्रिकेट खेल्न थाले भने खेल फुटबलको स्तरमा पुग्न सक्छ । हाल व्यावसायिक फुटबल २०० भन्दा बढी देशहरूमा खेलिन्छ । जबकि क्रिकेट खेल्ने देश यो संख्याको आधामात्रै छ ।




















