एजेन्सी := इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेकाे छ । आईताबार राति सम्पन्न फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले उपाधि जितेको हो ।
आईपिएलमा अहिलेसम्मका सिजनमा कोलकाताको यो तेस्रो जीतको उपाधि हो । यसअघि कोलाकाताले सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि जितेको थियो। पहिले ब्याटिङ गरेर हैदराबादले दिएको एक सय १४ रनको लक्ष्य कोलकाताले १०. ३ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।
यसअघि चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८.३ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो । कोलकाताको जितमा वेन्कटेस ऐयरले सर्वाधिक अविजित ५२ रन बनाए । उनले २६ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।
ओपनर रहमनुल्लाह गुबर्जले ३९ रन बनाए । हैदराबादका लागि कप्तान प्याट कुमिन्स र सहबाज अहमेदले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको हैदराबादले १८.३ ओभरका सबै विकेट गुमाउदै ११३ रन बनाएको थियो । हैदराबादका कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए ।
आइदेन मार्करमले २०, हेनरिक क्लासेनले १६ र नितिश कुमार रेड्डीले १३ रन थपे । आईपीएलको इतिहासमा फाइनलमा बनेको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो ।