एनआरएनए मलेसिया र महासंघ मलेसियाद्वारा सुरक्षागार्ड शेर्पालाई सम्मान।

[ घनश्याम चौधरी “आरएन” ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत एक नेपाली श्रमिक सुरक्षागार्ड सम्मानित भएको छ । यहीँ मे १ तारिख बितेको बुधबार परेको विश्व श्रमिक दिवसको अवसरमा मलेसियामा आयोजित एक कार्यक्रमको बीच नेपाली श्रमिक दावा शेर्पा सम्मानित भएका हुन ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाद्वारा आयोजित सम्पन्न भएको श्रमिक दिवस कार्यक्रमकै दिन एनआरएनए मलेसिया र नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले पालैपालो सम्मानपत्र र नगद पुरस्कारसहित प्रदान गरि सम्मान गरेका हुन ।

एनआरएनए मलेसियाका अध्यक्ष बिनोद् थापा र महासंघ अध्यक्ष बिपिन राई लगायतले सम्मानपत्र प्रदान गरि खादा ओढाइ शेर्पालाई सम्मान गरेका थिए ।

स्मरण रहोस् ए फाइभ सेक्युरिटी सर्भिसमा नामक कम्पनीमा बिगत ४ वर्षदेखि काम गर्दै आएका दावा शेर्पाले यहीँ बर्ष सन् २०२४ को २० मार्च २०२४ दमनसरास्थित एक सपिङ सेन्टरको पार्किङ क्षेत्रमा डिउटीमै रहेको अवस्थामा मलेसियन आरएम ५ लाख ८७ हजार ५ सय १६ रिंगेट रहेको ब्याग भेटाएका थिए ।

फोटो : सहकर्मी कृष्ण गुप्ता

पैसाले भरिएको सो ब्याग इमानदारीपूर्वक आफू कार्यरत कम्पनीमा जानकारी गराई आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गरेको भन्दै संघले शेर्पाको असाधारण इमान्दारिताको उदाहरणीय प्रदर्शनको कार्यलाई उच्च कदर गर्दै नगदसहित सम्मान गरेको एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापाले बताउनुभयो ।

यसैगरी नेपाल आदिवासी जनजाति महासंघ मलेसिया समितिले शेर्पाको इमानदारी प्रति धन्यवाद दिँदै प्रवासको ठाउँमा पनि आदिवासी जनजाति समुदाय लगायत सिङ्गो नेपाल र नेपालीको शिर ठाडो बनाउने काम गरेको भन्दै प्रशंसा पत्र र नगदसहित प्रदान गरेको महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले बताउनुभयो ।

कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका उपनियोग प्रमुख (DCM) मुद्दिता बज्राचार्य , एनआरएनए अभियान्ता खगेन्द्र न्यौपाने , महासंघ मलेसियाका अध्यक्ष बिपिन राई लगायत महसंघ सम्बद्ध जातीय संघसंस्था र नेपाली व्यापारी ब्यावसायी , राजनीतिक दलका प्रतिनिधि , श्रमिक लगायतको उपस्थिति रहेको थियो ।