ओमान:= एसिसी प्रिमियर कपको उपाधि युनाइटेड अरब इमिरेट्स (युएई)ले जितेको छ । अल अमेरात क्रिकेट मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा ओमानलाई ५५ रनले पराजित गर्दै युएईले उपाधि जितेको हो ।
जितसँगै युएईले एसिसी एसिया कपमा स्थान बनाएको छ । युएई एसिया कप २०२५ का लागि छनोट भएको छ। युएईले दिएको २०५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४७ रनमात्रै बनाउन सक्यो ।
ओमानका प्रतीक आठवलेले सर्वाधिक ४९ रन बनाउनुभयो । ३० बल खेल्नुभएका उहाँले ४ चौका र ३ छक्का प्रहार गर्नुभयो । खालिद कैल ३०, जिशान मक्सुद १४ र रफिउल्लाह ११ रन बनाएर आउट हुनुभयो । फैयज बट २३ रनमा अविजित रहनुभयो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
युएईका जुनैद सिद्दिकीले सर्वाधिक ३ विकेट लिनुभयो । मोहम्मद फारुख र आयान अफजल खानले २/२ विकेट लिँदा बसिल हमिदको नाममा १ विकेट रहृयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले कप्तान मोहम्मद वासिमको सानदार शतकप्रेरित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन जोडेको थियो ।
वासिमले ५६ बलमा ६ चौका र ७ छक्कासहित १०० रनको शतकीय इनिङ खेल्नुभयो । यस्तै, आशिफ खानले १६ बलमा ३६ रनको विस्फोटक अविजित इनिङ खेल्नुभयो । युएईका लागि वासिम र अर्का ओपनर आलिशान शराफुले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाउनुभएको थियो ।
आलिशानले २८ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाउनुभयो । विष्णु सुकुमरणले १४ बलमा १८ रन बनाउनुभयो । यस्तै, बसिल हमिदले १ रन बनाउँदा अलि नसिर २ रनमा अविजित रहनुभयो । ओमानका लागि बिलाल खानले २ विकेट लिनुभयो भने शकिल अहमद र जिशन मक्सुदले समान १-१ विकेट लिनुभयो ।
युएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङमाथि जित निकाल्दै फाइनलमा आफ्नो स्थान तय गरेको थियो । यसबाहेक ओमान र युएई इमर्जिङ कपमा छनोट भइसकेका छन् ।
हङकङले शनिबार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो । लिग चरणका खेलमा अपराजित नेपालका लागि भने एसिसी प्रिमियर कप निराशाजनक रहृयो ।




















